शिवराज नगरपालिका–१ निवासी ओविलाल विश्वकर्माले कपिलवस्तु चन्द्रौटामा रहेको आधारभूत अस्पतालमा भएको भनिएको आर्थिक अनियमितता तथा भ्रष्टाचार सम्बन्धी विषयमा विभिन्न सरकारी निकायमा उजुरी दिएका छन्।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा केन्द्रीय अनुसन्धान ब्युरो मा उजुरी दर्ता गराएको जानकारी दिएका हुन्।
उजुरीपत्र अनुसार शिवराज नगरपालिका–५ चन्द्रौटामा अवस्थित आधारभूत अस्पतालमा संकलित रकममध्ये करिब ३८ लाखभन्दा बढी रकम नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरिएको भनी देखाइए पनि वास्तविक रूपमा उक्त रकम बैंकमा जम्मा नभएको आशंका गरिएको छ। अस्पतालले पेश गरेका केही भौचरहरू नक्कली रहेको दाबी समेत उजुरीमा उल्लेख गरिएको छ।
सो प्रकरणमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी दोषी ठहर भए कडा कारबाही गर्न तथा हिनामिना भएको रकम असुल उपर गर्न माग गरिएको छ।
उजुरीपत्रमा यसअघि पनि उक्त अस्पतालसँग सम्बन्धित विभिन्न गम्भीर घटनाहरू बाहिर आएको तर त्यसमा पर्याप्त छानबिन नभएको उल्लेख गरिएको छ। छानविनमा ढिलाइ भइरहेकोले यथासिघ्र दोषिलाइ कानुनको दायरामा ल्याउनुपर्ने माग रहेको छ ।














