अस्पतालको रकम हिनामिना, सुकुम्बासी र सिंचाइ समस्या समाधान गर्न जनमोर्चाको माग
कपिलवस्तु — राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिले शिवराज नगरपालिकालाई आधारभूत अस्पतालमा भएको भनिएको ३८ लाख ५६ हजार रुपैयाँ हिनामिना, सुकुम्बासी व्यवस्थापन र जवाई सिंचाइ आयोजनाको ढिलाइबारे तत्काल पहल गर्न आग्रह गरेको छ।
नगर प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा जनमोर्चाले शिवराज आधारभूत अस्पतालमा आर्थिक अनियमितताको विषय सार्वजनिक भए पनि एक महिनासम्म सत्यतथ्य बाहिर नआएको उल्लेख गरेको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भएको अनियमितताले नागरिकमा नकारात्मक सन्देश गएको भन्दै छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र रकम असुलउपर गर्न माग गरिएको छ।

पत्रमा सुकुम्बासी समस्या दीर्घकालीन र जटिल भएकाले केवल सूचना जारी गरेर हटाउने प्रयासले समाधान नआउने उल्लेख छ। भूमिहीन नागरिकको हितलाई ध्यानमा राख्दै स्पष्ट नीति बनाएर मात्रै व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने जनमोर्चाको भनाइ छ।
यस्तै, शिवराज नगरपालिका–३ र ४ मा सञ्चालित जवाई सिंचाइ आयोजनाको काम सुस्त गतिमा भइरहेको भन्दै वर्षायामअघि नै निर्माण सम्पन्न गर्न माग गरिएको छ। खैरिपुरदेखि न्यौपारी, सेमरी र भडेखोर क्षेत्रका किसानहरू समयमै सिँचाइ नपाउने चिन्तामा रहेको पत्रमा उल्लेख छ।
नगर अध्यक्ष केर सिंह पुन मगर र जिल्ला सचिव केर सिंह बँदेले हस्ताक्षर गरेको पत्रमा सार्वजनिक सरोकारका विषयमा शीघ्र निर्णय र प्रभावकारी कार्यान्वयन गर्न नगरपालिकालाई आग्रह गरिएको छ। पत्र इलाका प्रशासन कार्यलय र वडा प्रहरी कार्यलय लाई समेत बुझाइएको छ । 














