शिवराज–३ मा आँखा शिविरले ४६ जनालाई दियो नयाँ दृष्टि ।
नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवामा सोमबार आयोजित निःशुल्क आँखा शिविरमा २४४ जनाले आँखा परीक्षण गराएका छन्। परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका ४६ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको छ।
नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा शिवराज नगरपालिका वडा नम्बर ३ को आयोजनामा आधारभूत विद्यालय मदवामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा स्थानीयवासीको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मोतिबिन्दु देखिएका ४६ जनालाई अस्पताल लगेर निःशुल्क शल्यक्रिया गरिएको चनई स्वास्थ्य चौकी प्रमुख जितेन्द्रबहादुर बिसीले बताउनु भयो । उहाँका अनुसार आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुँदै आएका ज्येष्ठ नागरिक र विपन्न परिवारका नागरिकलाई शिविरले राहत पुर्याएको छ।

वडा अध्यक्ष टेकलाल सापकोटाले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन पाउँदा स्थानीयवासी उत्साहित भएको बताउनु भयो । आँखाको समस्या भएर पनि आर्थिक अभावका कारण उपचार गर्न नसक्ने धेरै नागरिकले प्रत्यक्ष लाभ लिनुभएको छ,। उ “स्थानीय सरकार नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध रहेको सापकोटा ले बताउनु भयो ।
यस्ता कार्यक्रमले समयमै रोग पहिचान र उपचारमा सहयोग पुग्नुका साथै ग्रामीण भेगका नागरिकलाई सहजता भएको बताउनु भयो । शिविर सफल बनाउन सहयोग गर्ने नेपाल नेत्रज्योति संघ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, स्वास्थ्यकर्मी र स्थानीयवासीप्रति आभार व्याक्त गर्नुभयो ।

स्थानीयवासीले निःशुल्क परीक्षणदेखि शल्यक्रियासम्मको सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रमा सञ्चालन हुने यस्ता शिविरले उपचार पहुँच विस्तार गर्नुका साथै दृष्टि गुमाउने जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जनाइएको छ ।














