सर्पदंश व्यवस्थापनमा शिवराज अग्रसर : सचेतना, उपचार र उद्धार सेवा विस्तार

सर्पदंश व्यवस्थापनमा शिवराज अग्रसर : सचेतना, उपचार र उद्धार सेवा विस्तार
नवराज पौडेल कपिलवस्तु ,
वर्षायाम सुरु भएसँगै सर्पदंशको जोखिम बढ्न थालेपछि शिवराज नगरपालिकाले उपचारदेखि उद्धारसम्मका सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ। नगरपालिकाले सर्पदंशका बिरामीलाई निःशुल्क उपचार, निःशुल्क एम्बुलेन्स सेवा, आकस्मिक उद्धारमा खटिने व्यक्तिलाई इन्धन खर्चसहित सम्मान तथा सर्प उद्धार सेवा सञ्चालन गरिरहेको जनाएको छ।
यसैक्रममा शिवराज नगरपालिका वडा नं. १ ले सोमबार सर्पदंशसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। वडाको आयोजनामा तथा नेपाली सेना र गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रको समन्वयमा भएको कार्यक्रममा स्थानीयवासीलाई सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक उपचार, तथा विषालु र अविषालु सर्पको डसाइका संकेतबारे जानकारी दिइएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मीहरूले सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा समय खेर फाल्नु जोखिमपूर्ण हुने भन्दै बिरामीलाई शान्त राखेर सकेसम्म चाँडो उपचार केन्द्रमा पुर्‍याउनुपर्ने बताए। वर्षायाममा खेतबारी, झाडी र घर वरपर सर्पको गतिविधि बढ्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको थियो।
नगर प्रमुख अजय थापा ले सर्पदंशका कारण उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले विशेष व्यवस्था गरेको बताए।

उनले भने, “सर्पदंश आकस्मिक अवस्था हो। समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिन्छ। त्यसैले नगरपालिकाले निःशुल्क उपचार र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। आकस्मिक उद्धारमा खटिने व्यक्तिलाई इन्धन खर्चसहित सम्मान गर्ने र सर्प उद्धार सेवा पनि सञ्चालनमा छ।

वडा नं. १ का अध्यक्ष खिम विक्रम केसी ले वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको बताए।
उनले भने, “सर्पदंशबाट जोगिने उपायबारे समुदायलाई जानकारी दिन सके धेरै जोखिम कम गर्न सकिन्छ। सर्पले टोकेपछि झारफुकतिर नभई तुरुन्त स्वास्थ्य संस्थामा पुग्ने बानी बसाल्नुपर्छ। वडा कार्यालय नागरिकको सुरक्षाका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।
स्थानीयवासीले कार्यक्रमलाई उपयोगी र समयानुकूल भन्दै सबै वडामा यस्ता जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। शिवराज नगरपालिकाले वर्षायामभर सर्पदंशविरुद्ध सचेतना, उद्धार र उपचारलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ