लाइसेन्सको बाटो सहज बनाउँदै शिवराजको मेयर रोजगार कार्यक्रम

लाइसेन्सको बाटो सहज बनाउँदै शिवराजको मेयर रोजगार कार्यक्रम
कपिलवस्तु, शिवराज ।
बेरोजगारी न्यूनीकरण र युवालाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले शिवराज नगरपालिकाले सञ्चालन गरेको मेयर रोजगार कार्यक्रम अन्तर्गतको तीन पाङ्ग्रे सवारी चालक अनुमति पत्र (C र C1) ट्रायल सम्बन्धी पूर्वतयारी तालिम सम्पन्न भएको छ। नगरपालिकाको आयोजनामा तथा एस.पि.एस.ए. कम्प्युटर इन्स्टिच्युटद्वारा सञ्चालित तालिम सोमबार वडा नं. ५ को सभाहलमा आयोजित कार्यक्रमबीच समापन गरिएको हो।

गत वैशाख २७ गतेदेखि सुरु भएको १५ दिने तालिममा ११० जना सहभागी भएका थिए। तालिमले चालक अनुमति पत्र प्राप्त गर्न चाहने युवाहरूलाई ट्रायल परीक्षाका लागि आवश्यक व्यावहारिक ज्ञान, सीप र आत्मविश्वास प्रदान गरेको सहभागीहरूको भनाइ छ।।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख अजय थापाले नगरवासीलाई सीपमूलक तालिममार्फत रोजगारी र स्वरोजगारमा आबद्ध गराउने उद्देश्यले गत वर्षदेखि मेयर रोजगार कार्यक्रम सञ्चालन गरिएको बताए। “युवाहरूलाई दक्ष बनाएर आयआर्जनको अवसरसँग जोड्नु स्थानीय सरकारको दायित्व पनि हो,” उनले भने, “सीप र दक्षता हासिल गरेपछि रोजगारीका अवसर आफैं सिर्जना हुन सक्छन्।नगर प्रमुख थापाले सवारी चालक अनुमति पत्र प्राप्त गर्न कठिनाइ भोगिरहेका युवाहरूलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि रोजगारमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताए।।

वडा नं. ५ का अध्यक्ष नेत्र बेल्बासेले तीन पाङ्ग्रे सवारी साधन सञ्चालनमा भाडादरको एकरूपता कायम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले यात्रुमैत्री सेवा र जिम्मेवार व्यवसायिक आचरणले मात्र चालकहरूको पेशाप्रति नागरिकको विश्वास बढ्ने बताए।
तालिममा प्रहरी निरीक्षक आदर्श गिरीले ट्राफिक नियम, सडक सुरक्षा र सुरक्षित सवारी सञ्चालनसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए। उनले चालकको पहिलो दायित्व यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु रहेको बताउँदै ट्राफिक नियमको पालना नगर्दा हुने दुर्घटनाप्रति सचेत गराएका थिए।
एस.पि.एस.ए. कम्प्युटर इन्स्टिच्युटका प्रबन्धक सुवास गुप्ताका अनुसार तालिम १५ दिनसम्म सञ्चालन गरिएको हो। उनले सहभागीहरूलाई ट्रायल परीक्षामा आवश्यक पर्ने सैद्धान्तिक तथा व्यवहारिक दुवै पक्षमा प्रशिक्षण प्रदान गरिएको बताए। “केवल लाइसेन्स निकाल्ने उद्देश्य मात्र होइन, सुरक्षित र जिम्मेवार चालक उत्पादन गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको हो,उनले भने।
तालिममा सहभागीहरूले पनि कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिएका छन्। ट्रायल परीक्षाको प्रक्रियादेखि सवारी सञ्चालनका व्यवहारिक पक्षसम्म बुझ्न पाएको भन्दै उनीहरूले लाइसेन्स प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्। कतिपय सहभागीले यसले स्वरोजगारको ढोका समेत खोलिदिएको बताएका छन्।
स्थानीय तहले सञ्चालन गर्ने अधिकांश कार्यक्रम भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भइरहेका बेला शिवराज नगरपालिकाले सीप विकास र रोजगारीलाई प्राथमिकतामा राख्दै सञ्चालन गरेको मेयर रोजगार कार्यक्रमलाई स्थानीयहरूले सकारात्मक रूपमा हेरेका छन्। युवाहरूलाई सीप र अवसरसँग जोड्ने यस्ता कार्यक्रमले बेरोजगारी न्यूनीकरणसँगै सुरक्षित यातायात सेवा प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ