सेवा लिन जान्नुपर्छ प्रक्रिया : शिवराज–५ मा जनचेतनामूलक कार्यक्रम ।
नवराज पौडेल कपिलवस्तु ,
स्थानीय सरकारबाट प्रवाह हुने सेवा–सुविधाबारे नागरिकलाई सुसूचित गर्ने उद्देश्यले शिवराज नगरपालिका वडा नं. ५ ले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा करिब १२० जना स्थानीयवासीको सहभागिता रहेको थियो।
वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा शिक्षा, राजस्व, सामाजिक सुरक्षा, सिफारिस, योजना तर्जुमा तथा स्थानीय सरकारबाट प्रवाह हुने विभिन्न सेवाका विषयमा जानकारी गराइएको थियो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले गर्नुभएको थियो भने शिवकुमारी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा सहजीकरण गर्दै शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले स्थानीय सरकारबाट उपलब्ध हुने शैक्षिक सेवा, छात्रवृत्ति, विद्यालय व्यवस्थापन तथा शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रमबारे जानकारी गराउनुभयो। शिक्षा क्षेत्रमा समुदायको सहभागिता बढे मात्र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न सकिने उहाँको भनाइ थियो।
“स्थानीय सरकारका कार्यक्रम र सेवाबारे नागरिक सचेत हुन जरुरी छ,” विश्वकर्माले भन्नुभयो, “नागरिकले आफ्ना अधिकार र अवसरबारे जानकारी पाएपछि मात्रै सेवाको प्रभावकारी उपयोग गर्न सक्छन्।
त्यसैगरी लेखा शाखा प्रमुख रामचन्द्र मरासिनीले स्थानीय तहको राजस्व, बजेट कार्यान्वयन, सार्वजनिक खर्च तथा वित्तीय पारदर्शिताका विषयमा प्रस्तुति दिनुभयो। नागरिकले कर तिर्ने संस्कृतिको विकाससँगै स्थानीय सरकारको सेवा प्रवाह अझ प्रभावकारी बन्ने उहाँको भनाइ थियो।
“स्थानीय सरकारको विकास र सेवा प्रवाहमा नागरिकको प्रत्यक्ष भूमिका रहन्छ,” मरासिनीले भन्नुभयो, “राजस्व संकलनदेखि विकास निर्माणसम्मका विषयमा नागरिक सचेत भए सुशासन कायम गर्न सहज हुन्छ।
प्रमुख अतिथि शिवकुमारी चौधरीले स्थानीय सरकारका सेवा र सुविधाबारे जानकारीको अभावका कारण धेरै नागरिक अझै पनि अवसरबाट वञ्चित हुने गरेको बताउनुभयो। यस्ता कार्यक्रमले नागरिकलाई राज्यका सेवा तथा सुविधासँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा काम गर्ने उहाँको धारणा थियो।
“स्थानीय सरकार जनताको घरदैलोको सरकार हो,” चौधरीले भन्नुभयो, “सेवा प्राप्त गर्ने प्रक्रिया, अधिकार र जिम्मेवारीबारे नागरिकलाई जानकारी गराउन सके मात्र सुशासन र विकासले सार्थकता पाउँछ।”
कार्यक्रममा सहभागीहरूले सामाजिक सुरक्षा भत्ता, विभिन्न प्रकारका सिफारिस, शिक्षा, कर तथा विकास योजनासम्बन्धी जिज्ञासा राखेका थिए। सम्बन्धित शाखाका प्रमुखहरूले सहभागीका प्रश्नको उत्तर दिँदै सेवा प्रवाहका प्रक्रिया र कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए।
अध्यक्ष नेत्र प्रसाद बेल्बासेले नागरिकलाई स्थानीय सरकारसँग प्रत्यक्ष जोड्ने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले स्थानीय सरकारका सेवा तथा सुविधाबारे प्रत्यक्ष जानकारी पाउन पाएको भन्दै यस्ता कार्यक्रमलाई नियमित बनाउन सुझाव दिएका थिए।














