हाई मास्ट लाइटले फेरिँदै शिवराजका मुख्य चोकको स्वरूप

हाई मास्ट लाइटले फेरिँदै शिवराजका मुख्य चोकको स्वरूप ।

नवराज पौडेल चन्द्रौटा, कपिलवस्तु ।नगरलाई उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यसहित कपिलवस्तुको शिवराज नगरपालिका ले विभिन्न स्थानमा हाई मास्ट लाइट जडान अभियानलाई तीव्रता दिएको छ। सडक सौन्दर्यीकरण, रात्रीकालीन आवागमनको सहजता तथा सार्वजनिक स्थलहरूको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले चरणबद्ध रूपमा मुख्य चोक तथा बजार क्षेत्रमा हाई मास्ट लाइट विस्तार गरिरहेको हो।
चालु आर्थिक वर्षअन्तर्गत खरेन्द्रपुर नहर चोक, बनकट्टी समिति चोक तथा शिवपुर उमरी चोकमा हाई मास्ट लाइट जडानको काम हुने भएको छ । करिब १५ लाख रुपैयाँ सम्झौतामा उक्त योजनाको निर्माण जिम्मेवारी काठमाडौंस्थित कर्मदा ट्रेड एन्ड सप्लायर्स प्रालि ले लिएको छ।
जडान कार्यको प्रगति तथा गुणस्तरको मूल्याङ्कन गर्न बुधबार नगरपालिकाको टोलीले सम्बन्धित स्थानहरूको स्थलगत अनुगमन गरेको छ। अनुगमनमा वडा नं. १ का वडाध्यक्ष खिमविक्रम केसी, वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा, वडा नं. ४ का वडाध्यक्ष नसिम अहमद खान, नगरपालिकाका पूर्वाधार शाखा प्रमुख रामजी नेपाली, सब–इन्जिनियर शिव पराजुली, निर्माण व्यवसायी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। टोलीले निर्माण कार्यको प्राविधिक पक्ष, गुणस्तर तथा निर्धारित मापदण्डअनुसार काम गर्न निर्देशन दिदै गुणस्तरीय निर्माणमा जोड दिएको जनाएको छ।
नगर प्रमुख अजय थापा का अनुसार हाई मास्ट लाइट जडान कार्यक्रम नगरलाई आधुनिक, सुरक्षित र आकर्षक बनाउने दीर्घकालीन योजनाको हिस्सा हो। उहाँले सडक सौन्दर्यीकरणसँगै रातिको समयमा नागरिकलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले नगरका प्रमुख चोक तथा सार्वजनिक स्थलहरूमा हाई मास्ट लाइट जडानलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
शिवराज नगरपालिकाले अघिल्लो आर्थिक वर्षमै चन्द्रौटा चोक, खरेन्द्रपुर चोक, शिवपुर चोक, वडा नं. ५ स्थित हाटबजार क्षेत्र, रुद्रपुर चोक तथा धरमनगरमा हाई मास्ट लाइट जडान गरिसकेको छ। ती स्थानमा जडान गरिएका लाइटले रातिको समयमा बजार क्षेत्र तथा सार्वजनिक स्थललाई थप व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुर्‍याएको स्थानीयवासीको भनाइ छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा बिरपुर चोक, गड्गडवा चोक, जौभारी चोक तथा हनुमान चोकमा समेत हाई मास्ट लाइट जडान गर्ने योजना बनाएको छ। नगरका प्रमुख व्यापारिक तथा आवागमन केन्द्रहरूलाई उज्यालो बनाउने लक्ष्यअनुसार योजना विस्तार गरिने नगर प्रमुख थापाले जानकारी दिनुभयो।
स्थानीयवासीका अनुसार हाई मास्ट लाइट जडानपछि रातिको समयमा आवागमन सहज हुनुका साथै दुर्घटनाको जोखिम न्यूनीकरण, सुरक्षा व्यवस्थापनमा सुधार तथा बजार क्षेत्रको आकर्षण बढ्ने विश्वास गरिएको छ। नगरपालिकाले अघि सारेको उज्यालो शिवराज अभियानले नगरको स्वरूप परिवर्तन गर्दै आधुनिक र व्यवस्थित नगर निर्माणको आधार तयार गरिरहेको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ