हुक्काको धुवाँमा हराउँदै चन्द्रौटाका किशोर किशोरी : व्यवसायी र स्थानीय सरकार किन मौन ?

हुक्काको धुवाँमा हराउँदै चन्द्रौटाका किशोर किशोरी : व्यवसायी र स्थानीय सरकार किन मौन ?
नवराज पौडेल कपिलवस्तु ,

चन्द्रौटा बजार फेरि एकपटक गलत कारणले चर्चामा आउन थालेको छ। विगतमा यौनधन्दाका कारण बदनाम बनेको यो बजार अहिले हुक्का संस्कृतिको केन्द्र बन्दै गएको देखिन्छ। झन् चिन्ताजनक पक्ष के छ भने हुक्का सेवन गर्नेहरूमा विद्यालय र कलेज पढ्ने उमेर समूहका किशोर–किशोरीको उपस्थिति बढ्दो छ। तर यस विषयमा सबैभन्दा बढी जिम्मेवार मानिने होटल तथा रेस्टुरेन्ट व्यवसायी र स्थानीय सरकार भने आश्चर्यजनक रूपमा मौन देखिएका छन्।
बजारका विभिन्न क्याफे र रेस्टुरेन्टहरूमा दिनहुँजसो हुक्काको धुवाँ उडिरहेको देखिन्छ। उमेर नपुगेका किशोरहरू समेत समूह बनाएर हुक्का सेवन गरिरहेका दृश्य अब नौलो रहेन। प्रश्न उठ्छ—यी किशोरहरूलाई हुक्का कसले उपलब्ध गराइरहेको छ? उनीहरूलाई सेवा दिने व्यवसायीहरूको सामाजिक जिम्मेवारी कहाँ गयो?
व्यापारको नाममा जे पनि गर्न पाइन्छ भन्ने मानसिकता अहिले चन्द्रौटाका केही व्यवसायमा देखिन थालेको छ। ग्राहक बढाउने नाममा किशोर पुस्तालाई नशाजन्य संस्कृतितर्फ धकेल्ने छुट कसैलाई छैन। नाफा कमाउने लोभमा भविष्यको पुस्तामाथि खेलबाड गर्ने अधिकार कुनै व्यवसायीसँग हुँदैन।
अर्कोतर्फ स्थानीय सरकारको भूमिका झनै निराशाजनक देखिन्छ। किशोरहरू सार्वजनिक रूपमा हुक्का सेवन गरिरहेका छन्, अभिभावकहरू चिन्तित छन्, सामाजिक सञ्जालमा तस्वीर र भिडियोहरू सार्वजनिक भइरहेका छन्। तर स्थानीय सरकारबाट प्रभावकारी अनुगमन, सचेतना वा नियन्त्रणका कुनै ठोस पहल देखिँदैनन्।
विद्यालयहरूमा लागूऔषध, धूमपान र दुर्व्यसनविरुद्ध कार्यक्रम गर्ने कुरा भाषण र नीतिगत कागजमा सीमित देखिन्छ। वास्तविकता भने बजारका क्याफेहरूमा देख्न सकिन्छ, जहाँ किशोर पुस्ता हुक्काको धुवाँसँगै आफ्नो समय र सम्भावना दुवै खर्च गरिरहेको छ।
अझ विडम्बना त के छ भने हुक्कालाई सामान्य मनोरञ्जनका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढिरहेको छ। कतिपय अभिभावकले समेत यसलाई गम्भीर रूपमा लिएका छैनन्। तर विश्व स्वास्थ्य संगठनले बारम्बार हुक्का सेवनका स्वास्थ्य जोखिमबारे चेतावनी दिँदै आएको छ। एक घण्टा हुक्का सेवन गर्दा ठूलो मात्रामा धुवाँ शरीरभित्र पुग्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।
आज चन्द्रौटामा देखिएको हुक्का संस्कृति भोलि चुरोट, मदिरा र अझ गम्भीर दुर्व्यसनतर्फ जाने ढोका बन्न सक्छ। इतिहासले देखाएको छ समाजका विकृतिहरू अचानक जन्मिँदैनन्, समयमै बेवास्ता गरिएका साना संकेतहरू नै पछि ठूलो समस्यामा रूपान्तरण हुन्छन्।
स्थानीय सरकार अझै पनि मौन बस्ने हो भने प्रश्न उठ्नेछ—युवापुस्ताको भविष्य जोगाउने जिम्मेवारी कसको हो? होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू सामाजिक उत्तरदायित्वबाट भाग्ने हो भने उनीहरूलाई केवल नाफाको व्यापारीका रूपमा मात्र हेरिनेछ।
चन्द्रौटाले विगतका बदनाम छायाँबाट मुक्त हुने प्रयास गरिरहेको बेला अर्को सामाजिक संकटलाई सामान्य रूपमा लिनु घातक हुनेछ। हुक्काको धुवाँ केवल क्याफेभित्र सीमित छैन, त्यो चन्द्रौटाको भविष्यतर्फ पनि फैलिँदै गएको छ। अहिले पनि सम्बन्धित निकायहरू जागेनन् भने भोलि समस्या नियन्त्रणभन्दा बाहिर पुग्दा जिम्मेवारीबाट उम्किने ठाउँ कसैसँग रहने छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ