कफीको कपबाट आत्मनिर्भरताको सपना : शिवराजका १०७ युवा बरिस्ता सीपसहित बिदा

कफीको कपबाट आत्मनिर्भरताको सपना : शिवराजका १०७ युवा बरिस्ता सीपसहित बिदा
नवराज पौडेल , कपिलवस्तु
बदलिँदो जीवनशैलीसँगै नेपालमा कफी संस्कृति विस्तार हुँदै जाँदा होटल, रेस्टुरेन्ट र क्याफे क्षेत्रमा दक्ष जनशक्तिको माग पनि बढ्दो छ। यही आवश्यकतालाई मध्यनजर गर्दै शिवराज नगरपालिकाले युवालाई सीपसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको आधारभूत बरिस्ता तालिम सम्पन्न गरेको छ।

मेयर रोजगार कार्यक्रमअन्तर्गत शिवराज नगरपालिकाको ५ लाख लागतमा  एन.ए.बि. स्पेसालिटी बरिस्ता ट्रेनिङ सेन्टरको सहकार्यमा सञ्चालन गरिएको १५ दिने तालिममा नगरका विभिन्न वडाका १०७ जना युवायुवती सहभागी भएका थिए। चन्द्रौटा–बालापुर मोडस्थित तालिम केन्द्रमा जेठ २० गतेदेखि सञ्चालन भएको तालिम असार ४ गते सम्पन्न भएको हो।
तालिमको समापन शिवराज नगरपालिका–५ स्थित दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा गरिएको थियो।

सहभागीहरूले कफी बनाउने आधारभूत विधिदेखि आधुनिक कफी तयारी, ग्राहक सेवा, प्रस्तुतीकरण तथा क्याफे सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका छन्।
समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले युवालाई रोजगारको खोजीमा मात्र सीमित नराखी सीप र उद्यमशीलतासँग जोड्ने नगरपालिकाको नीतिअनुसार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त नहुने वर्तमान अवस्थामा व्यावहारिक सीपले नै अवसर सिर्जना गर्ने उल्लेख गर्दै युवालाई आत्मनिर्भर बन्न आग्रह गर्नुभयो।
आजको बजारले डिग्री मात्र खोज्दैन, दक्षता पनि खोज्छ,” उहाँले भन्नुभयो, “हामी युवालाई रोजगारीका लागि प्रतिस्पर्धी मात्र होइन, रोजगार सिर्जना गर्न सक्ने क्षमतासहितको जनशक्ति बनाउन चाहन्छौं।”
पछिल्ला वर्षहरूमा बरिस्ता पेशा होटल तथा क्याफे उद्योगको महत्वपूर्ण अंगका रूपमा स्थापित हुँदै गएको छ। एक समय सामान्य कामका रूपमा हेरिने कफी बनाउने पेशा अहिले सेवा, प्रस्तुति र व्यावसायिक दक्षतासँग जोडिएको सम्मानित व्यवसायमा रूपान्तरण भएको छ। स्वदेशमै क्याफे व्यवसाय विस्तार हुँदै जानु र अन्तर्राष्ट्रिय बजारमा समेत दक्ष बरिस्ताको माग बढ्नुले यस क्षेत्रमा सीप हासिल गर्ने युवाका लागि अवसरको दायरा फराकिलो बन्दै गएको छ।


स्थानीय तहले सञ्चालन गरेका यस्ता सीपमूलक कार्यक्रमले युवालाई वैदेशिक रोजगारको विकल्प खोज्न मात्र होइन, आफ्नै ठाउँमा उद्यम र स्वरोजगारको सम्भावना पहिचान गर्न समेत प्रेरित गर्ने अपेक्षा गरिएको छ। १०७ युवाले प्राप्त गरेको बरिस्ता सीप अब कफी बनाउने कलामा सीमित रहने छैन, बरु आत्मनिर्भर भविष्य निर्माण गर्ने आधार बन्ने विश्वास नगरपालिकाले लिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर