कपिलवस्तु साझेदारी वनले ५० हजार बिरुवा निःशुल्क बाँड्दै
नवराज पौडेल कपिलवस्तु
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समूहले पाँच स्थानीय तहका २२ वडाका उपभोक्तालाई लक्षित गरी ५० हजार बिरुवा निःशुल्क वितरण सुरु गरेको छ। असार १५ देखि सुरु गरिएको अभियानअन्तर्गत टिक, खयर, कल्की फूल, गुलमोहर, बेलौतीलगायतका प्रजातिका बिरुवा वितरण भइरहेको समूहले जनाएको छ।

समूहका अध्यक्ष गङ्गेशनाथ तिवारीका अनुसार वर्षायामलाई लक्षित गरी उत्पादन गरिएका बिरुवा वन क्षेत्रको संरक्षण, हरियाली विस्तार र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले निःशुल्क वितरण गरिएको हो। साझेदारी वन क्षेत्रभित्रका पाँच पालिकाका २२ वडाका उपभोक्ताले यस कार्यक्रमबाट लाभ लिन सक्नेछन्।
उनका अनुसार ५० वटासम्म बिरुवा लिन नागरिकताको प्रतिलिपि (फोटोकपी) मात्र पर्याप्त हुनेछ। ५० भन्दा बढी बिरुवा आवश्यक परे सम्बन्धित वडाको सिफारिस र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। प्राप्त बिरुवालाई खाली जग्गा, सार्वजनिक स्थल तथा निजी जमिनमा रोपेर संरक्षण गर्न पनि उनले आग्रह गरे।
बिरुवा वितरणसँगै घर तथा गोठ निर्माणका लागि आवश्यक डाँडा–भाटा पनि उपभोक्तालाई उपलब्ध गराउन थालिएको तिवारीले बताए। उनका अनुसार एक ट्र्याक्टरमा करिब ८५ थान डाँडा–भाटा पाँच हजार रुपैयाँमा उपलब्ध गराइँदै आएको छ।
वनबाट प्राप्त स्रोतसाधनलाई संरक्षणसँगै स्थानीय समुदायको आवश्यकता पूरा हुने गरी उपयोग गर्ने नीति अनुरूप बिरुवा तथा वनजन्य सामग्री वितरण गरिएको समूहले जनाएको छ। वर्षायामभर वितरण अभियानलाई निरन्तरता दिइने अध्यक्ष तिवारीले बताए।














