लोक सञ्चार डटकम, कपिलवस्तु ,,
नेकपा एमाले शिवराज नगरपालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनमा महादेव पोख्रेल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज सम्पन्न अधिवेशनले पोख्रेललाई नयाँ नेतृत्वको जिम्मेवारी दिएको हो ।
अध्यक्ष पदमा निर्वाचित भएपछि पोख्रेलले पार्टीको विधान अनुसार अघि बढ्ने प्रतिबद्धता जनाउँदै पार्टीलाई थप सशक्त र संगठित बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्। नगरका कार्यकर्ताका आवश्यकताहरुलाई प्राथमिकता दिने र पार्टीलाई बलियो बनाउने पोख्रेलको प्रतिज्ञा छ।
नगर सचिव पदमा रोशन एमसी निर्वाचित भएका छन् भने उपाध्यक्षमा टेकलाल सापकोटा र उपसचिवमा गोपाल प्रसाद बन्जाडे निर्वाचित भएका छन्। अन्य पदाधिकारीहरूको चयन प्रक्रियामा रहेकाले थप निर्णयहरू छिट्टै सार्वजनिक गरिने बताइएको छ।
नेकपा एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनालले अधिवेशनले पार्टीलाई आगामी दिनमा थप सशक्त बनाउने नयाँ नेतृत्व चयन गरेको जानकारी दिए। पार्टीको संगठनलाई मजबुत बनाउन अधिवेशनले महत्वपूर्ण निर्णयहरू गरेको खनालले बताए। नगर अधिवेशनले पार्टीलाई नयाँ दिशा र गति दिने अपेक्षा राखिएको छ।














