कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा एक हप्ते योग अभ्यास कार्यक्रमको उद्घाटन गरिएको छ। नागरिक आरोग्य सेवा केन्द्र चन्द्रौटाको आयोजनामा र वडा नम्बर ३ को सहयोगमा योग अभ्यासको प्रारम्भ गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष टेकलाल सापकोटाले संस्कृत शब्द ‘योग’को अर्थ जोड्नु हो, जसका माध्यमबाट मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रिया योग हो। उहाँले ‘योगश्चित्तवृत्तिनिरोधः’को शाब्दिक अर्थ प्रस्तुत गर्दै योगको महत्व र यसको प्रभावलाई दर्शाउनुभयो।

वडा बासिहरूलाई योगको नियमित अभ्यासबाट स्वास्थ्य सुधार, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्ति, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बृद्धि, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा र आत्मज्ञान प्राप्तिका साथै अन्य सकारात्मक गुणहरूको विकास गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको सापकोटाले जानकारी दिनुभयो।
कार्यक्रममा डा. आसिस चौधरी, डा. नलिमनाथ तिवारी र बिस्नु अधिकारीजस्ता योग प्रशिक्षकहरूले प्रशिक्षण दिनुभएको थियो।
योग अभ्यास शिवराज नगरपालिका वडा नम्बर ४ स्थित समयथान बहुमुखी क्यापसको हलमा बिहान ६ बजेबाट सुरु हुने बताइएको छ। प्रशिक्षक बिस्नु अधिकारीले सहभागिहरूलाई योग अभ्यासका विविध फाइदाका बारेमा जानकारी दिनुभएको थियोे ।
यो एक हप्ते योग अभ्यास कार्यक्रमले स्थानिय नागरिकहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।













