नवराज पौडेल कपिलवस्तु ,
सीप सिकौ स्वरोजगार बनौं भन्ने उदेश्य सहित कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा एक हप्ते हार्पिक तथा फिनाएल बनाउने तालिम सुरु भएको छ। यस तालिमको उद्देश्य स्थानिय महिलाहरुलाई स्वरोजगार र सरसफाइ सम्बन्धी चेतना प्रदान गर्नु हो। वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भएको छ कि, यो तालिम वडा नम्बर ३ को सहयोगमा र मिलिजुलि वचत तथा ऋण सहकारी सस्थाको आयोजनामा सञ्चालन गरिएको हो।
वडा अध्यक्ष सापकोटाले”हामी हरेक वर्ष फरकफरक खालका कार्यक्रम सञ्चालन गर्दै आएका छौं, र यस पटक महिलाहरुलाई स्वरोजगार दिने उदेश्यले यो तालिम सुरु गरिएको हो।” उहाँका अनुसार, हार्पिक र फिनाएल बनाउने तालिमले महिलाहरुलाई स्वरोजगारको अवसर प्रदान गर्नुका साथै सरसफाइको महत्व बुझ्न र त्यसका बानीलाई जीवनमा लागू गर्न पनि मद्दत पुर्याउने बताउनु भयो ।
यो तालिम बिहीवारबाट सुरु भएको हो, जसमा वडा नम्बर ३ का २५ जना महिलाहरुको सहभागिता रहेको छ। गत वर्ष अचार बनाउने तालिम दिइएको थियो, जसको परिणाम स्वरुप शिवराज अचार उद्योग सञ्चालनमा आएको छ र महिलाहरु स्वावलम्बी बनेका छन्। यससँगै पन्चेवाजा महिला समूहले पनि स्वरोजगारको बाटो समातेको छ।
वडा अध्यक्ष सापकोटाले महिलाहरुलाई अपील गर्दै भने, “तपाईंहरुले सिकेका सिपलाई व्यावहारिक रूपले प्रयोग गर्नुपर्नेछ, ताकि तपाईंहरुको जीवनमा सुधार आउँछ र स्वावलम्बनको यात्रा थप मजबुत हुन्छ।”
यो तालिमले महिला सशक्तिकरणको नयाँ दिशा खोल्दै उनीहरुलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।














