कपिलवस्तुको विजयनगर गाउँपालिका-४ मा रहेको शंकरपुर तालको निर्माण कार्य सुरु भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मंगलबार शंकरपुर ताल एकिकृत सिँचाई तथा जनस्रोत आयोजनाको उद्घाटन गरेका छन् ।
मन्त्री खड्काले शंकरपुर ताल सिँचाई याेजनाले सयाैँ कृषक लाभान्वित हुनुकाे साथै पर्यटकीय क्षेत्रकाे विकासले आयआर्जनमा टेवा पुग्ने बताएका छन् । पर्यावरणीय हिसाबले वरिपरि जङ्गल भएकाे हुँदा चराचुरुङ्गी संरक्षणसँगै चराहरुकाे संख्या पनि बढ्दै जाने उनलेे बताए । यहाँ हाेमस्टे सञ्चालनकाे आवश्यकता देखिएको उनको भनाइ छ ।
मन्त्री खड्काले भने; “मुलक बजेट खर्च भइरहेको बताउँदै समयमा काम सम्पन्न नहुन्न, काम अधुरो भइरहने, मुभलाइजेशनकाे पैसा लग्ने, भ्यारिएशन हुने लगायत समस्या भइरहेकाे छ” । यसले देशकाे अर्थतन्त्र कमजोर बनाएको बताएकाे उनले बताए । जनताले सरकारले काम गरेकाे जस्तो नदेखिने गुनासो आउने गरेकाे उनलेे बताए ।
स्थानीय सरकार नजिककाे सरकार भएकाेले यस याेजनाकाे कामलाई बढी जनप्रतिनिधिले विशेष निगरानी गर्नुपर्नेमा जाेड दिए । उनले ठेकेदारका लापरवाहीका कारण देशभरिमा विभिन्न याेजना अलपत्र अवस्थामा परेकाे हुँदा सरकारबाट पुरस्कृत हुने गरि समयमै काम सम्पन्न गर्न आग्रहसमेत गरे ।
यस्तै लुम्बिनी प्रदेशका उर्जा तथा जलस्रोत मन्त्री सीता कुमारी चाैधरीले ताल, पाेखरीकाे संरक्षण गर्न आवश्यकता देखिएकाे बताएकी छन् । उनले संघीय र प्रदेश सरकारले जलाशययुक्त तालतलैयालाई याेजनाबद्ध रुपमा अगाडी सार्न सके ७० प्रतिशत किसान सिँचाईबाट लाभान्वित हुन सक्ने बताइन् । सिँचाईलाई मध्यनजर गर्दै ताललाई थप विकास गर्दै मन्त्री चाैधरीले जाेड दिइन् ।
सांसद सुरेन्द्रराज आचार्यले भएका ताल पाेखरीलाई मर्मत सम्भार गरि संरक्षण गर्नुपर्ने बताए । यसैबाट अधितम कृषक लाभान्वित हुने हुँदा सरकारले ध्यान पुर्याउन जरुरी रहेकाे उनलेे बताए ।
विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शंकर ताल निर्माण गर्ने सपना पूरा भएको बताए । उनले अविरल वर्षाका कारण तालकाे बाँध फुटेपछि तालकाे गाैचरणामा परिणत भएको बताउँदै हजाराैँ किसान तालकाे पानीकाे सिँचाईले लाभान्वित हुने बताए ।
नहर निर्माणकाे काम भइसकेकोले गड्डाघाटकाे पानी शंकरपुर तालमा आउने भएको हुँदा कृषकलाई सिँचाई समस्या नहुने उनको भनाइ छ । यस सिँचाई याेजनाबाट ७ हेक्टर क्षेत्रमा सिँचाई हुने र १७ सय परिवार सिँचाईबाट प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष थापाकाे भनाइ छ ।
ताल निर्माणकाे ठेक्का बाबुल लुम्बिनी जेभी कम्पनीले पाएकाे छ । १२ कराेडकाे लागतमा पहिलो चरणकाे ताल निर्माणकाे काम सुरु भएको ठेकेदार अबुसमा मुसलमानले जानकारी दिए ।













