इ-रिक्सा चालकका लागि जीवन उपयोगी तालिम, सवारी अनुमतिपत्र प्रक्रियामा सहजता ।।
नवराज पौडेल कपिलवस्तु
शिवराज नगरपालिकाको आयोजनामा संचालित १५ दिने छोटो अवधिको तीन पाङ्ग्रे सवारी चालक अनुमति पत्र (C र C1) ट्रायल सम्बन्धी पूर्व प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
एस.पि.एस.ए कम्प्युटर इन्ष्टिच्युट द्वारा सञ्चालित नगरस्तरीय मेयर रोजगार कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सोमबार एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो । प्रशिक्षणमा ४० जनाको सहभागीता रहेको नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो । प्रशिक्षण पश्चात् आज प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको छ । मेयर रोजगार कार्यक्रम अन्तर्गत चालक अनुमतिपत्र प्राप्त गर्न सहज बनाउन र ट्राफिक ज्ञानबारे जानकारी दिनु तालिमको उद्देश्य रहेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनुभयो।
प्रमाणपत्र बुझ्दै प्रशिक्षार्थी ओम बहादुर विकले हामीले इ-रिक्सा त खरिद गरेका थियौँ, तर धेरै विषयहरूको ज्ञान थिएन, अहिले भने ट्राफिक नियम र सवारी चलाउँदा ध्यान दिनुपर्ने विषयहरूबारे राम्रो जानकारी प्राप्त भएको बताउनुभयो।
कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाहले नगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि मेयर रोजगार कार्यक्रम अन्तर्गत प्रदान गरेको तालिम निकै फलदायी रहेको बताउनुभयो। उहाँले यो प्रमाणपत्र सवारी चालक अनुमतिपत्र नभएको स्पष्ट पार्दै यातायात व्यवस्था कार्यालयबाट अनुमति लिन आवश्यक भएको र त्यसका लागि परीक्षा दिन आग्रह गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले इ-रिक्सा व्यवस्थापनका लागि नगरपालिकाले विभिन्न सरोकारवालासँग अन्तरक्रिया गरेको र सोही मागअनुसार तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले तालिमलाई जीवन उपयोगी समेत बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा अध्यक्ष नगर प्रमुख अजय थापाले तालिमको मुख्य उद्देश्य इ-रिक्सा चालकहरूलाई सवारी अनुमतिपत्र प्राप्तिमा सहजीकरण गर्नु रहेको बताउनुभयो।
उहाँले सवारी नियमको ज्ञान अभाव हुँदा अनावश्यक ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्यका लागि तालिम आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै नगरपालिकामा धेरै इ-रिक्सा सञ्चालन भए पनि सबैलाई अनुमति दिन नसकिने भन्दै सवारी मात्रै भएर समस्या समाधान नहुने बताउनुभयो। अब नगर क्षेत्रमा सञ्चालन हुने इ-रिक्सा चालकहरूले अनिवार्य ड्रेस लगाउनु पर्ने व्यवस्था गरिएको समेत जानकारी दिनुभयो।
कार्यक्रम शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईको सञ्चालनमा र नगर प्रमुख अजय थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।













