शिवगढी मन्दिर संरक्षणमा नेपाली सेनाको योगदान, विभिन्न संरचनाहरू निर्माण र मर्मत कार्य सम्पन्न ।।

शिवगढी मन्दिर संरक्षणमा नेपाली सेनाको योगदान, विभिन्न संरचनाहरू निर्माण र मर्मत कार्य सम्पन्न

नवराज पौडेल कपिलवस्तु

कपिलवस्तुको , शिवराज नगरपालिका ९ स्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण शिवगढी मन्दिरको रंगरोगन, विश्राम गृह तथा जस्तापाता बदली, नव निर्माण गरिएको शौचालय भवन र मूल गेटको मर्मत कार्य सम्पन्न गरी शिवराज नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

उक्त कार्य नेपाली सेनाको जनहित कार्यक्रमअन्तर्गत सम्पन्न गरिएको हो। नेपाली सेना, मध्य पश्चिम पृतना हे.क्वा.को निर्देशनमा नं. २२ बाहिनी अड्डाको सुपरिवेक्षण र श्री शम्शेर दल गणको नेतृत्वमा उक्त संरचनात्मक विकास कार्य सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि पृतनापति उपरथी श्री प्रेम बहादुर पुनले निर्माण कार्य सम्पन्न भएको संरचना नगरप्रमुख अजय थापालाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो।

इतिहास अनुसार शिवगढीको स्थापना नेपाल–अंग्रेज युद्धको समयमा भएको मानिन्छ। किम्बदन्ती अनुसार यस स्थानमा सतिदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ, जसकारण यहाँ शिव मन्दिर स्थापना गरिएको हो। हिन्दू धर्मालम्बीहरूले यस मन्दिरलाई शक्तिपीठको रूपमा पुजा गर्दै आइरहेका छन्। प्रत्येक वर्ष शिवरात्री तथा साउने संक्रान्तिमा स्वदेशी तथा छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरू यहाँ दर्शन पूजनका लागि आउने गर्छन्।
कार्यक्रममा शिवराज नगरपालिकाका उप प्रमुख शिवकुमारि थारु , प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, वडा अध्यक्षहरु राम बहादुर चौधरी, टेकलाल सापकोटा, राम गोपाल चौधरी लगाएको सहभागीता रहेको थियो ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शिवगढीको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा नेपाली सेनाको यो योगदानले स्थायीत्व ल्याउनुका साथै सैनिक–नागरिक सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ। साथै, यस क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ