माधव भाटक्षेत्री कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गा नदीमा अवैध रूपमा नदीजञ्य पदार्थ उत्खनन् गर्दा मानव बस्ती जोखिममा परेको धारणा राष्ट्रिय जनमोर्चाको रहेको छ ।
जिल्ला अध्यक्ष रामप्रसाद बेलबासेको हस्ताक्षरमा २०८२ जेठ ३ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो धारणा व्यक्त गरेको हो ।
राजमोले कपिलवस्तुको बाणगङ्गा नदीलगायत अन्य पालिकाअर्न्तगत लागेका ठेक्कामा भइरहको अवैध, मापदण्ड विपरीत र अवैध उत्खनन्प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
पर्यटकीय, धार्मिक, सामाजिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको बाणगङ्गा नदीबाट राज्यले तोकेको मापदण्ड विपरीत नदीजन्य पदाथ व्यापक रूपमा चोरी, दोहन हुँदा नियन्त्रण नहुनुलाई राजमोले रहस्यमय बताएको छ ।
वक्तव्यमा भनिएको छ– “यसरी भइरहेको अवैध उत्खनन्का कारण श्रृवीघाट, प्रगतिचार मौजा सिँचाइ आयोजना, लक्ष्मणघाट पुल, बाणगङ्गा सिँचाइ आयोजना, आयोजनाको ड्याम नदीकिनारमा रहेका बस्ती लौरिबगिया, बैकण्ठपुर, शिसेनिया, धनेशपुर, बनगाई, लक्ष्मणघाट, भगलापुर, बनकसिया, कुस्मा, जर्लेया, सगरहवा, रुधौला, तिलौरी, तिलौराकोटलगायतका बस्ती जोखिममा परेका छन् ।”
प्रत्येक वर्ष बाढी र कटानको जोखिम बढ्दै गएको तथा सिँचाइ संरचना ध्वस्त हुने अवस्था सिर्जना भएको बताउँदै वक्तव्यमा यस्तो कार्यले कृषिमा प्रत्यक्ष असर परेको, खानेपानीका स्रोत सुक्न थालेका, प्राकृतिक पर्यावरण विनाश हुँदै गएको र जैविक विविधता सङ्कटमा परेको बताइएको छ ।
स्काभेटर प्रयोग गरी अन्धाधुन्ध उत्खनन् स्थानीय जनप्रतिनिधि, ठेकेदार समूह र प्रशासनको मिलेमतोबिना सम्भव नभएको राजमोको ठहर छ ।
संरक्षित क्षेत्रमा समेत स्काभेटर प्रयोग गरेर आतङ्क मच्चाइँदा स्थानीय सरकार, जिल्ला समन्वय समिति र प्रहरी प्रशासन पूर्ण मौन रहेकोमा राजमोले आपत्ति प्रकट गरेको छ ।
“यस प्रकारको मौनता जनताको भावना र जनमतको घोर दुरुपयोग हो” वक्तव्यमा भनिएको छ– “हाम्रो पार्टी यसप्रति कडा आपत्ति जनाउँदै यस्तो उत्खनन् कार्य तुरुन्त बन्द गर्न र मनपरि गर्ने कानुनको धज्जी उडाउनने जोकोहीलाई पनि कारबाहीको माग गर्दै भविष्यमा यस्तो प्रकृतिको गैरकानुनी उत्खनन रोक्न स्थायी व्यवस्था गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ ।”
राजमोले जनतासित यस्ता गैरकानुनी र भष्टाचार विरुद्ध आवाज बुलन्द गर्न आह्वानसमेत गरेको














