शिवगढीमा वर्षौंदेखि अधुरो विद्युत् लाइन: स्थानीयवासीको दैनिकी अन्धकारमै ।।

शिवगढीमा वर्षौंदेखि अधुरो विद्युत् लाइन: स्थानीयवासीको दैनिकी अन्धकारमै ।।
सुवास परियार शिवगढी ,,
शिवराज नगरपालिका-९ शिवगढीको सुन्दरी डाँडासम्म नयाँ विद्युत् लाइन तानिएको वर्षौं भइसक्यो, तर अझैसम्म लाइन सञ्चालनमा नआउँदा यहाँका बासिन्दाहरू निरन्तर अन्धकारको पीडामा छन्।
चन्द्रौटास्थित सबस्टेसनबाट सुन्दरी डाँडासम्म ११ हजार भोल्ट क्षमताको लाइन बिछ्याइए पनि, काम अधुरै हुँदा नियमित आपूर्ति सम्भव भएको छैन। यसले गर्दा हरेक वर्षा याम र हावाहुरीको समयमा स्थिति झनै भयावह बन्ने गरेको छ।
हाल शिवगढीमा करिब २५ किलोमिटर टाढाको कृष्णनगर वितरण केन्द्रमार्फत विद्युत् आपूर्ति भइरहेको छ। यो लामो दूरीको अस्थायी लाइनले बारम्बार अवरोध ल्याउने गरेको छ। “लाइन त कयौं वर्ष अघि नै तानिएको हो, तर अहिलेसम्म चल्न नसक्नु दुखद् हो,” एक स्थानीय बासिन्दाले गुनासो गरे।
वर्षौंदेखि नेपाल विद्युत् प्राधिकरणसँग आवाज उठाउँदै आएका स्थानीयवासीहरू अब भने ठोस समाधानको अपेक्षामा छन्। उनीहरू भन्छन्, “हामीले पटक–पटक अनुरोध गर्‍यौं, तर सम्बन्धित निकायहरू बेवास्ता गरिरहे।”
अब स्थानीय प्रशासन, जनप्रतिनिधि र विद्युत् प्राधिकरणबीच समन्वय गरेर यथाशिघ्र लाइन सञ्चालनमा ल्याउनुपर्ने माग चर्किंदै गएको छ। यो समस्या समाधान नहुँदासम्म शिवगढीका नागरिकहरूको जीवनमा उज्यालो आउन गाह्रो देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ