शिवराज–९ मा दुना–टपरी बनाउने तालिम सम्पन्न साना उद्यममार्फत आत्मनिर्भरता हासिल गर्ने उद्देश्य
शिवराज नगरपालिका–९, बिजगौरीमा दुना–टपरी बनाउने एक दिने तालिम सम्पन्न भएको छ। किर्डार्क नेपाल तथा स्ट्रोम फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘बिलिफ कार्यक्रम’ अन्तर्गत जेठ ६ गते आयोजना गरिएको उक्त तालिम वडा नं ९ कार्यालयको समन्वयमा सम्पन्न भएको हो।
तालिममा सफलता स्वावलम्बन समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी महिलाहरूले दुना–टपरी बनाउने सीप अभ्यासमार्फत सिकेका थिए। उनीहरूले तालिम उपयोगी भएको बताउँदै यस्ता कार्यक्रमले स्वरोजगार र आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रम आयोजक संस्थाका अनुसार तालिमको मुख्य उद्देश्य स्थानीय महिलाहरूलाई सिपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने र साना उद्यमको माध्यमबाट आयआर्जनको अवसर सिर्जना गर्नु रहेको छ।
यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्दै लैजाने योजना आयोजक संस्थाले सार्वजनिक गरेको छ। समुदायस्तरमै सिप विकास हुने खालका कार्यक्रमहरूले दीर्घकालीन रूपमा स्थानीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।













