शिवराज नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

कपिलवस्तुको शिवराज नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। आइतवार कार्यक्रम आयोजना गरी पूर्णखोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको हो।

पूर्ण खोप सुरक्षित भविष्य भन्ने नाराका साथ जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले पूर्ण खोप सुनिश्चितता घोषणा गरे।

कार्यक्रममा बोल्दै आचार्यले घोषणा गरेर मात्र नहुने यसलाई दिगोपन बनाउन जटिल रहेकोले स्वास्थ्यकर्मीहरूले आगामी दिनमा पनि अभियानकै रूपमा लैजानुपर्ने बताए। उमेर समूहका बालबालिकाले पूर्ण खोप पाएको प्रमाणबमोजिम घोषणा गरिएकाले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने जिकिर गरे।

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख आचार्यले शिवराज नगरपालिका प्रमुख अजय थापालाई हस्तान्तरण गरे। सोही अवसरमा नगरप्रमुख थापाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए। पालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको बताउँदै खोप अनिवार्य रहेकाले नगरवासीले पनि खोप लगाउन हिचकिचाउन नहुने बताए। उनले शिवराज आधारभूत अस्पताललाई स्वास्थ्य क्षेत्रबाट अगाडि बढाउँदै लगेकाले आगामी वर्षदेखि सर्पदंशको उपचार पनि हुने बताए।

पालिकामा रहेका ११ वटा वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताए। कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल,सामाजिक विकास समितिका संयोजक टेकलाल सापकोटा, वडा नं १ का अध्यक्ष खिमविक्रम केसी, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव पोख्रेल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका शिव सुवेदीले घोषणा मात्र गरेर नहुने भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

१० वटा पालिका रहेको कपिलवस्तुमा तेस्रो पालिकाको रूपमा शिवराज नगरपालिकालाई घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताए। अन्य ७ वटा पालिकालाई क्रमशः घोषणा गर्ने अभियानमा रहेको बताइएको छ। शिवराज नगरपालिकाभर १६–५९ महिना उमेर समूहका ४ हजार ३१५ मध्ये शतप्रतिशत बालबालिकाले पूर्ण खोप पाएको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर