रहतावल सामुदायिक वनको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५७ प्वाइन्ट रगत संकलन
१८औं गणतन्त्र दिवसको अवसरमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अन्तर्गत रहतावल सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५७ प्वाइन्ट रगत संकलन गरिएको छ।
उक्त कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र बुटवल र सञ्जीवनी सामुदायिक अस्पतालले प्राविधिक सहयोग गरेका थिए।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व वनमन्त्री अर्जुन कुमार केसीले नियमित रक्तदानले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै यस्ता सामाजिक क्रियाकलापले समाजमा प्रेरणादायी सन्देश प्रवाह गर्ने धारणा राख्नुभयो।
डिभिजन वन कार्यालय गौतमबुद्धका डिभिजनल प्रमुख राजु क्षेत्रीले सामुदायिक वन उपभोक्ता समितिहरूले सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउनु राम्रो पक्ष भएको बताउनुभयो।
रहतावल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञ प्रसाद बेल्बासेले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा स्थानीय समाजसेवी, युवाहरू, स्वयंसेवक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले नियमित रक्तदानले जीवन रक्षामा ठूलो योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए।
कार्यक्रम सफल बनाउन विभिन्न स्थानीय नागरिक, संस्था र संघसंस्थाहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए।













