शिवराज–३ मा बालबालिकाका लागि बालउद्यान निर्माण सुरु, १५ लाखको लागतमा विकास हुँदै
नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तुको शिवराज नगरपालिका–३ स्थित सुपादेउराली मन्दिर परिसरमा बालबालिकाका लागि खेल तथा मनोरञ्जन सुविधा सम्पन्न बालउद्यान निर्माण सुरु गरिएको छ। कुल १५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको सो बालउद्यान प्रदेश सरकारको बजेटमार्फत तयार हुन लागिएको हो।
वडाध्यक्ष टेकलाल सापकोटाका अनुसार लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीको पहलमा बजेट विनियोजन भई ठेक्का प्रक्रियामार्फत निर्माण कार्य अघि बढाइएको हो।
“बालबालिकाले स्थानमै खेल्न पाउने, रमाइलो गर्न पाउने वातावरण तयार पार्ने उद्देश्यले बालउद्यान निर्माण सुरु गरिएको हो,” वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो।
उक्त बालउद्यानमा झुला, चढ्ने सिँढी, घुम्ती खेलौना लगायत १० प्रकारका खेल सामग्री राखिने छ। बालमैत्री संरचना र सुविधा विकास गरी स्थानीय स्तरमै बालबालिकाको समग्र विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको छ।
निर्माण कार्य छिट्टै सम्पन्न गरी समुदायले सहज रूपमा प्रयोग गर्न सक्ने गरी उद्यान हस्तान्तरण गरिने जनाइएको छ। स्थानीय अभिभावक र बालबालिकाले नयाँ बालउद्यानले रमाइलो वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्













