कपिलवस्तु – शिवराज नगरपालिका–५, चन्द्रौटामा मानव बेचबिखन तथा ओसारपसार, लैंगिक हिंसा र यौन दुर्व्यवहारजस्ता गम्भीर सामाजिक समस्याविरुद्ध सशक्त जनचेतना कार्यक्रम सम्पन्न भएको छ। शान्ति पुनर्स्थापना गृहको आयोजनामा र वडा नं. ५ को कार्यालयको सक्रिय सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिन सफल भएको छ।
कार्यक्रमको अध्यक्षता अध्यक्ष डिल्लीराज तिमिल्सिनाले गर्नुभएको थियो भने प्रमुख अतिथि शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी चौधरीले गर्नु भएको थियोे । उहाँले समाजमा अझै पनि महिला तथा बालबालिकामाथि हुने हिंसा र शोषणले चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै समुदायलाई सचेत गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले कुनै न कुनै बाहानामा महिलाहरु अझै पनि बेचबिखन हुँदै आइरहेको बताउदै महिलाहरु जागरुक हुन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा प्रतिनिधि, महिला समूह, सञ्चारकर्मी र स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी, वडा नं. ५ का अध्यक्ष नेत्र बेलबासेले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै “महिला तथा किशोरीहरूलाई जानकारी र आत्मविश्वास दिलाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको बताउनु भयो ।
सहभागीहरूमाझ विषयसम्बन्धी जानकारीमूलक प्रस्तुति, अन्तरक्रिया, प्रश्नोत्तर सत्र र अनुभव आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
शान्ति पुनर्स्थापना गृहका प्रतिनिधिहरूले मानव बेचबिखन तथा यौन हिंसाका घटनाहरू रोकथाम गर्न समुदायको भूमिका अहंम हुने भन्दै सचेत र सक्रिय रहन आह्वान गरे। साथै, पीडितको पहिचान, संरक्षण, पुनःस्थापना र पुनःएकीकरणका क्षेत्रमा संस्था निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए।

कार्यक्रमले समाजमा मौनताभन्दा आवाज उठाउनु पर्ने, पीडितको पक्षमा साथ दिनुपर्ने र अन्यायविरुद्ध सामूहिक रूपमा उभिनुपर्ने सन्देश प्रवाह गरेको सहभागीहरूको धारणा थियो।
यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुर्याउने आयोजकको विश्वास छ।













