शिवगढी खानेपानी समितिको निर्वाचन असार ७ गते हुँदै
दुई समूहबीच प्रतिस्पर्धा, स्थानीयको सुधारमा आशा
कपिलवस्तुको शिवराज–९ मा लामो समयदेखि नेतृत्वको विवादमा अल्झिएको शिवगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति अब नयाँ नेतृत्व चयनको चरणमा पुगेको छ। समितिको निर्वाचन असार ७ गते हुने भएको छ।
वडा अध्यक्ष राम गोपाल थारुको अध्यक्षतामा असार २ गते सम्पन्न बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै लक्ष्मण प्रसाद निरौलालाई निर्वाचन मण्डलको संयोजक तोकेको हो। संयोजक निरौलाको अगुवाइमा असार ३ गते मतदाता नामावली प्रकाशन गरिएको थियो। असार ४ गतेसम्म छुट नाम समावेश, नाम सच्याउने, दाबी–विरोध, उम्मेदवारी दर्ता, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गर्ने काम पूरा गरिएको थियो।
अध्यक्ष पदका लागि दुई उम्मेदवार मैदानमा छन्:नन्दलाल पुरी,को चुनाव चिन्ह: खानेपानी ट्यांकी जय र नारायण पुनको, चुनाव चिन्ह: पानीको धारा रहेको छ ।
दुवै पक्षले ११ सदस्यीय कार्यसमिति प्रस्ताव गरेका छन्। निर्वाचन शिवगढी आधारभूत विद्यालय, बिजगौरीमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ। मतगणना सोही दिन गरिने र असार ७ कै साँझमा परिणाम सार्वजनिक गरिने बताइएको छ।
स्थानीय बासिन्दाहरूले संस्थामा दीर्घकालीन सुधार, पारदर्शिता, सेवा विस्तार र सशक्त नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्। धेरैले यस निर्वाचनबाट खानेपानीको सुचारु सेवा र जनताको विश्वास पुनः प्राप्त हुने विश्वास लिएका छन्।
शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि तयारी पुरा भइसकेको र सबै मतदातालाई जिम्मेवारपूर्वक सहभागिता जनाउन निर्वाचन मण्डलले आग्रह गरेको छ।













