२२औं राष्ट्रिय धान दिवस शिवराज–३ मदवामा उत्साहका साथ मनाइयो
कपिलवस्तु, असार १५ –
२२औं राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ आज शिवराज नगरपालिका–३, मदवामा लक्ष्मी तरकारी महिला कृषक समूहले विशेष कार्यक्रमका बीच भव्य रूपमा मनाएको छ।
कार्यक्रममा कृषक समूह, स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। धान दिवसको अवसरमा कृषक, वडा अध्यक्ष टेकलाल सापकोटा, पूर्व नगरप्रमुख नेत्रराज अधिकारी, स्थानीयवासीहरू लगायतले संयुक्त रूपमा खेतमा गइ परम्परागत शैलीमा धान रोपे र दही–चिउरा खाएर दिवसको उत्सव मनाएका हुन ।
कार्यक्रममा प्रमुख अतिथि नेत्रराज अधिकारीले धान उत्पादन आत्मनिर्भरता र कृषिमा आधुनिकीकरणको आवश्यकता औँल्याउँदै कृषकहरूको भूमिका महत्वपूर्ण रहेको बताए। वडा अध्यक्ष टेकलाल सापकोटाले कृषकहरूको परिश्रमले मुलुकको खाद्य सुरक्षामा योगदान पुर्याउने भएकाले यस्तो दिवसले कृषकप्रतिको सम्मान अभिवृद्धि गर्ने बताए।
कृषि विभागका अनुसार असार १३ गतेसम्म देशभर १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ। किसानहरूका लागि असार १५ केवल एक दिन मात्र नभई वर्षभरिकै मेहनत र उत्पादनको सुरुवातका रूपमा लिइन्छ।
कार्यक्रमले कृषकहरूमा उत्साह, एकता र परम्परागत कृषि पद्धतिप्रतिको महत्व झल्काएको थियो। लक्ष्मी तरकारी महिला कृषक समूहको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय तहमा कृषिमा जागरूकता र सहकार्यको सन्देश फैलाएको छ।













