शिवराजमा तरकारी संकलन केन्द्र प्रयोगविहीन: दुई वर्षदेखि तास र गाईगोठको थलो, स्थानीय सरकार बेखबर
नवराज पौडेल कपिलवस्तु ,
कृषकको उत्पादनलाई सहज बजार पहुँच गराउने उद्देश्यले निर्माण गरिएका तरकारी संकलन केन्द्रहरू कपिलवस्तुको शिवराज नगरपालिकामा प्रयोगविहीन अवस्थामा पुगेका छन्। करिब दुई वर्षअघि लाखौं रुपैयाँको लगानीमा निर्माण भएका यी केन्द्रहरू अहिले तास खेल्ने थलो र गाई गोठमा परिणत भएका छन्।
शिवराज नगरपालिका वडा नम्बर ३ मा निर्माण गरिएको तरकारी संकलन केन्द्र २०७९ साल असार ३२ गते उद्घाटन गरिएको थियो। नगर उपप्रमुख शिवकुमारी थारु स्वयंको उपस्थितिमा उद्घाटन गरिएको उक्त केन्द्र सञ्चालनको जिम्मा शिवराज कृषि सहकारी संस्थालाई दिइएको थियो। तर केही महिना चलाएपछि सहकारीले सञ्चालन गर्न नसक्दा केन्द्र बन्द भयो। त्यसयता केन्द्र प्रयोगविहीन रहँदै अहिले पूर्ण रूपमा उपेक्षित बनेको छ।
स्थानीयहरूका अनुसार, “केन्द्रमा अहिले दिनभरि तास खेल्नेहरूको जमघट हुन्छ भने साँझपख गाई बाँधिएको देखिन्छ। जुन स्थान कृषकको हितका लागि बनाइएको थियो, अहिले लाजमर्दो अवस्थामा पुगेको छ।”
त्यस्तै अवस्था वडा नम्बर २ मा रहेको अर्को तरकारी संकलन केन्द्र समेत प्रयोग बिहिन छ । त्यहाँ समेत केन्द्र वर्षौंदेखि बन्द छ। कुनैपनि कार्यक्रम, योजना वा पहल विना ती संरचनाहरू खण्डहरमा रूपान्तरण हुँदै गएका छन्।

स्थानीय सरकार भने सबै कुरा हेरेर बसेको छ । न त पुनः सञ्चालनका प्रयास, न जिम्मेवार खोजी। योजनाको सुरुआतमा प्रचारबाजी गर्ने स्थानीय सरकार सञ्चालनको नाममा शून्य देखिएको छ। यस्ता प्रयोग बिहिन तरकारी संकलन केन्द्रमात्रै होइन शिवराज ३ खरेन्द्रपुरमा नै मंगलबार बजार लगाएउने भन्दै वडाको २ लाख लागतमा नहरको उत्तरतर्फ खाने पानी ट्यान्किको छेउमा २ वटा ट्र्स्ट समेत प्रयोग बिहिन भएका छन । जहाँ अहिले लागू औसध सेवन गर्ने युवाहरुको बास रहने गर्छ ।
कृषकको पसिना र करदाताको पैसामा निर्माण गरिएका यस्ता पूर्वाधार विफल हुनु, जनप्रतिनिधिको गम्भीर कमजोरी हो। अनुगमन, जवाफदेहिता र दिगो योजनाको अभावका कारण यस्ता आयोजना बेकम्मा बन्नु सामान्यजस्तै हुन थालेको छ

यता वडा अध्यक्ष टेकलाल सापकोटाले हाल सम्म शिवराज कृषि सहकारी संस्थाको जिम्मामा रहेको र केही महिना राम्रै चलाए पनि पछि चलाउन नसके पछि बन्द रहेको बताउदै सहकारीले चलाउन नसक्ने पत्र वडामा वा कृषि शाखामा दिए पश्चात् वडाले सुचना प्रकाशित गरि अरु कुनै कृषक समुह अथवा अन्य संस्थालाई जिम्मा दिई संकलन केन्द्र चलाउने सोचमा रहेको बताउनु भयो ।













