केवटले एकैपटक तीन सन्तान जन्माइन् – दुई छोरा र एक छोरी, तर गरिबीले उपचारमा संकट
कपिलवस्तु, असार १७ –
कपिलवस्तुको शिवराज नगरपालिका–४ डकहियाकी कमला केवटले एकैपटक तीन सन्तान – दुई छोरा र एक छोरी जन्माएकी छन्। कमलाले शिवराज–३, खरेन्द्रपुरस्थित चनइ स्वास्थ्य चौकीमा सुरक्षित डेलिभरी गरेकी हुन्। नवजातहरूमध्ये दुईको तौल १.५ के.जी. र एकको तौल १.७ के.जी. रहेको छ।
यो दम्पतीका यसअघि पनि तीन सन्तान छन् – सात वर्षका एक छोरा र तीन वर्षकी दुई जुम्ल्याहा छोरी। अहिले पुनः जुम्लिया बच्चा जन्मिएसँगै परिवारमा खुसी त थपिएको छ, तर आर्थिक समस्याले त्यो खुसी पीडामा परिणत भएको छ।
चिकित्सकका अनुसार नवजात शिशुहरूको तौल कम भएकाले उनीहरूलाई थप स्याहार, पोषण र निगरानी आवश्यक छ। उनीहरूलाई बुटवल वा सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने भनिएपनि आर्थिक अभावका कारण परिवार असमर्थ बनेको छ।
यस कठिन परिस्थितिमा शिवराज–३ का वडा अध्यक्ष टेकलाल सापकोटाले मानवीय सहयोग स्वरूप परिवारलाई रु. ५,००० नगद सहयोग गरेका छन्। तर यो रकम बच्चाहरूको सम्पूर्ण उपचार र स्याहारका लागि पर्याप्त नहुने भएकाले थप सहयोगको आवश्यकता रहेको छ।
श्रीमान् सोमै केवट दिहाडी मजदुरी गरेर गुजारा चलाउँदै आएका छन्। अहिले नवजात शिशुहरूको लागि आवश्यक दूध, कपडा, औषधी लगायतको व्यवस्था गर्नसमेत गाह्रो भएको परिवारले जनाएको छ।
गरिबीका कारण उपचारमा समस्या परेको यो परिवार तत्काल सहयोगको पर्खाइमा छ। स्थानीय सरकार, संघसंस्था, सामाजिक अभियन्ता तथा इच्छुक दाताहरूले साना नवजात ज्यान बचाउन सहयोग गर्नु आजको आवश्यकता बनेको छ।
सहयोग गर्न चाहनेहरूले चनइ स्वास्थ्य चौकी वा शिवराज–३ वडा कार्यालयमार्फत सम्पर्क गर्न सक्नुहुन्छ।














