हनुमान स्ट्याचु राख्ने संरचना निर्माणमा ११ लाख बढी खर्च,
लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटाको बालापुर मोडमा निर्माण गरिएको हनुमान स्ट्याचु प्लेटफर्म निर्माणमा ११ लाख २८ हजार २ सय ५ रुपैयाँ खर्च गरिएको खुलासा भएको छ।
योजनाको निर्माण कार्य दीपाली निर्माण सेवा नामक कम्पनीले जिम्मा लिएको हो।
तर, स्थानीयबासीले निर्माण गरिएको संरचनाको लागत संकास्पद रहेको भन्दै असन्तुष्टि जनाएका छन्। “पूरै संरचना हेर्दा ३ लाख पनि नलाग्ने देखिन्छ,” एक स्थानीय नागरिकको भनाइ छ।
निर्माण सम्पन्न भएको भनिएको संरचना अत्यन्तै साधारण र सस्तो गुणस्तरको देखिन्छ। पर्खाल, प्लास्टर, रङ र संरचनाको भौतिक बनावट हेर्दा यथेष्ट लगानी गरिएको प्रमाणित हुँदैन ।
यस योजनाको लागत र संरचनाको गुणस्तरबीचको फरकले प्रदेश सरकारको ठेक्का प्रणालीप्रति गम्भीर प्रश्न उठेको छ।
स्थानीय निकाय, प्राविधिक टोली वा मन्त्रालयस्तरबाट कुनै पनि प्रभावकारी अनुगमन नहुँदा सार्वजनिक रकमको दुरुपयोग भइरहेको देखिन्छ।
प्रदेश सरकारका परियोजनाहरू स्थानीय तहमा गुणस्तरहीन र देखावटी शैलीमा सम्पन्न भइरहेका छन्। यस्ता योजनाहरूमा हुने अनियमितताबारे न प्रदेश सरकारले स्पष्ट जवाफ दिने गर्दछ, न त ठेक्का पाएको निर्माण कम्पनीलाई कारबाही हुने अभ्यास देखिन्छ।
जसरी ११ लाख बढी बजेट खर्च भएको भनिएको संरचना अत्यन्त सामान्य देखिन्छ, त्यसले बजेट खर्च पारदर्शिता र जनताको पैसाप्रति जिम्मेवारीबारे गम्भीर प्रश्न उठेको छ ।
स्थानीयवासी र नागरिक समाजले हनुमान स्ट्याचु प्लेटफर्म निर्माणको सम्बन्धमा तुरुन्त प्राविधिक मूल्यांकन, बजेट विवरण सार्वजनिक पार्न र दोषी पक्षलाई कारबाही गर्न माग गरेका छन्। यता निर्माण कम्पनी दिपाली निर्माण सेवाका सचालक दलर्जन केसिले स्टिमेट अनुसार काम भएको दावी गरेका छन ।













