कपिलवस्तुको शिवराज २ बालमैत्री वडा घोषणा

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ लाई बालमैत्री वडा घोषणा गरिएको छ ।कपिलवस्तुको शिवराज नगरपालिका–२ ले बालबालिकाको समुचित विकास, संरक्षण र अधिकार सुनिश्चित गर्न समुदायको सक्रिय सहभागितामा आधारित सामाजिक उत्तरदायित्वलाई नयाँ उचाइमा पु-याउँदै वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरेको हो ।

शुक्रवार चन्द्रौटास्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा आयोजित विशेष समारोहमार्फत वडाले बाल अधिकार सुनिश्चित गर्नका लागि समुदाय, स्थानीय सरकार र सरोकारवालाबीचको उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व महिला तथा वातावरण मन्त्री सुरेन्द्रराज आचार्यले स्थानीय तहको क्रियाशीलता र उत्तरदायित्व नै दीर्घकालीन सकारात्मक परिवर्तनको आधार हुने बताउनु भयो ।बालबालिकाको भविष्य सुरक्षित गर्न सबै तहको सहकार्य अपरिहार्य हुने बताउनु भयो ।
बालबालिकाको अधिकार सुनिश्चित गर्न, शिक्षा, स्वास्थ्य, खेलकुद, संरक्षण, सहभागिता लगायतका क्षेत्रहरूमा नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने वातावरण तयार पार्नु पर्ने पुर्व नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो ।यो अभियानको एउटा महत्वपूर्ण उपलब्धि हो। अबको जिम्मेवारी त्यसलाई अझ मजबुत बनाउँदै अघि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले बालमैत्री वडा घोषणापत्र सार्वजनिक गर्दै बालश्रम, हिंसा र विभेदका विरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयनमा सामूहिक ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सुचक पुरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनु भयो । बालमैत्री वडा निर्माणको लागि वडाले सबै सुचक तथा मापदण्ड पूरा गरेकोले वडा नम्बर २ लाई बालमैत्री घोषणा गरिएको उहाँले बताउनु भयो ।
वडास्तरसंगै, नगर र विभिन्न संघ सस्थाको सन्वयमा वडाले ५१ वटा सुचकलाई पार गर्दै बालमैत्री वडा घोषणा गर्न सफल भएको वडाध्यक्ष राम बहादुर चौधरीले बताउनु भयो ।
बालमैत्री आचारसंहितालाई अबलम्बन गर्दै शिक्षा, स्वास्थ्य, पोषण, सिर्जनशीलता र संरक्षणका सवालमा विशेष प्राथमिकता राखेर प्राप्त सुचकको आधारमा वडालाई बालमैत्री वडा घोषणा गरेको बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष खिम विक्रम केसी, वडा ५ का अध्यक्ष नेत्र बेल्वासे, मानवअधिकारकर्मी विष्णुप्रसाद खतिवडा, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईस्वरी प्रसाद पाण्डे , नेपाली कांग्रेसका जिल्ला उप सभापति हुमकान्त खनाल लगायत बाल क्लब र अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा वडा नम्बर २ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।













