धान उत्पादनमा वैज्ञानिक प्रविधिको प्रयोग : शिवराज–३ मा ३ दिने तालिम सुरु

धान उत्पादनमा वैज्ञानिक प्रविधिको प्रयोग : शिवराज–३ मा ३ दिने तालिम सुरु

नवराज पौडेल कपिलवस्तु ,

धान उत्पादनमा आधुनिक प्रविधि र वैज्ञानिक अभ्यासलाई किसानसम्म पुर्‍याउने उद्देश्यका साथ कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३, मदवामा ३ दिने प्राविधिक तालिम सुरु भएको छ।

तालिम रहटावल सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा शिवराज नगरपालिका कृषि विकास शाखा चन्द्रौटाको प्राविधिक सहयोगमा सुरु गरिएको हो। समूहका अध्यक्ष यज्ञ बेल्बासेले तालिमले कृषकहरूको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यस तालिममा ९० जना कृषकको सहभागिता रहनेछ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि वडा नं. ३ का वडा सदस्य श्यामलाल थारुले कृषि क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग समयको माग भएको बताउँदै, यस्तो तालिम किसानहरूको आय वृद्धिमा एक नयाँ अध्याय बन्ने धारणा व्यक्त गर्नुभयो।

डिभिजन वन अधिकृत पहलमान शेरबुजा मगरले कृषि र वनलाई नङ र मासुको सम्बन्धको रूपमा व्याख्या गर्दै, वनको संरक्षण बिना दिगो कृषि सम्भव नभएको स्पष्ट पार्नुभयो। उहाँले भने, “एक हेक्टर कृषि योग्य जमिनको उत्पादन सम्भावना बुझ्न मल र माटोको सन्तुलन अत्यन्तै जरुरी छ, जसका लागि वैज्ञानिक ज्ञान आवश्यक छ।”

उहाँले सामुदायिक वन उपभोक्ता समूहहरूले सामाजिक रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले स्थानीय कृषकलाई आत्मनिर्भर बनाउन मद्धत पुग्ने धारणा राख्नुभयो।

रहटावल सामुदायिक वन समूहले यसअघि पनि बृहत् रक्तदान, स्वास्थ्य शिविर जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको उल्लेख गर्दै अध्यक्ष बेल्बासेले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ