जनताको आशा चिरा पर्यो: दुई महिनामै सडक चर्किएपछि स्थानीय निराश
नवराज पौडेल लोक सन्चार मिडिया प्रा. लि
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खरेन्द्रपुरमा निर्माण गरिएको पिच सडक २ महिना नपुग्दै चर्किएको छ।
शिवराज नगरपालिकाको रिङ्गरोड अन्तरगत छाला फ्याक्ट्री निस्कने सडक करिब १० मिटरको दूरीमा गहिरो चिरा देखिएको उक्त सडकको अवस्था अहिले देखिनसाथै बिग्रिन थालेको स्थानीयवासीहरूले गुनासो गरेका छन्।
रुपन्देहीको मोतिपुर-७ मा कार्यालय रहेको कृति कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको उक्त सडक शिवराज रिङ्ग रोड अन्तर्गतको खण्ड हो।
२०८२ जेठ ०४ गते सडक निर्माण सप्पन्न भएको र २ महिना मै चिरा आउनु निर्माण सामग्रीको गुणस्तर, पिचको मोटाइ, रोलर दबाइ, तथा ढल निकासजस्ता प्राविधिक पक्षहरूमा गम्भीर लापरबाही भएको पाइएको छ ।
स्थानीय बासिन्दाहरूले निर्माण कम्पनीको कमजोरी र नगरपालिकाको अनुगमन कमजोरीको कडा आलोचना गरेका छन्। “२ महिनामै सडक चर्किन्छ भने लाखौँ खर्च किन?” एक स्थानीयले भने।
स्थानीयहरूले निर्माण कम्पनीसँग क्षतिपूर्तिको माग गर्दै नगरपालिकालाई तत्काल पुनःमर्मत र दोषीमाथि कारवाहीको माग गरेका छन्।
यता शिवराज नगरपालिकाका प्राविधिक प्रमुख रामजी नेपाली थापाले सडक १ वर्ष सम्ममा बिग्रे भत्किएको खण्डमा ठेकेदार कम्पनीको जिम्मा रहने भन्दै तत्काल सुधारका लागि खबर गरेको बताउनु भयो । ठेकेदार कम्पनीका संचालक कृष्ण सापकोटाले भने असोज अगाडि काम गर्न नसकिने भन्दै असोज मसान्तसम्म पुन निर्माण गर्ने जानकारी गराएका छ्न ।













