कपिलवस्तु, १२ भदौ ।
कपिलवस्तुको तौलिहवा–चार नम्बर सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–१० पचेहरा हाटबजार नजिकै बिहीबार साँझ बम विस्फोट हुँदा मुख्य सडक ध्वस्त भएको छ ।
स्थानीयबासीका अनुसार साँझ करिब ६ः१० बजेतिर ठूलो आवाजसहित बम विस्फोट भएको थियो । विस्फोटको छर्रा टाढासम्म पुगेको स्थानीयबासीले बताएका छन् ।
प्रहरीले भने सडक भित्र दबिएको अवस्थामा रहेको विस्फोटजन्य पदार्थ आफैं विस्फोट भएको दाबी गरेको छ । विस्फोटका कारण करिब १० फिट लामो र ४ फिट चौडा बराबरको खाल्डो बनेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले सडकमा दबिएको विस्फोटजन्य पदार्थ अचानक विस्फोट भएको जानकारी दिएका छन् । उनले घटनामा मानवीय क्षति नभएको पनि बताए ।
वडाध्यक्ष मोहनलाल शर्माले ठूलो विस्फोट भए पनि मानवीय क्षति नभएको बताए । घटनास्थलमा ठूलो संख्यामा स्थानीयबासीको भीड लागेको छ ।
हाल घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














