विरोध प्रदर्शनमा १९ युवाको निधन, शिवराज नगरपालिकाद्वारा शोक प्रकट ।।
देशभरका युवाहरुले Gen Z आन्दोलन अन्तर्गत सञ्चालन गर्दै आएको विरोध प्रदर्शन आज बिहानै हिंसात्मक रूप लिँदा सो घटनामा संलग्न १९ युवाहरुले अकालमै ज्यान गुमाउनु परेको समाचार सार्वजनिक भएपछि शिवराज नगरपालिकाले गहिरो शोक प्रकट गरेको छ ।

नगर प्रमुख अजय थापाको हस्ताक्षरमा जारी गरिएको शोक सन्देशमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पीडित परिवारप्रति हार्दिक श्रद्धाञ्जली र संवेदना व्यक्त गरिएको छ । साथै घटनामा घाइते भएका युवाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
आज देशका युवा वर्ग–Gen Z द्वारा आह्वान गरिएको विरोध प्रदर्शनका क्रममा भएको घटनामा अमूल्य जीवन गुमाउनुपरेकोप्रति गहिरो दुःख व्यक्त गर्दछौं । आन्दोलनले उठाएका जायज विषयवस्तुहरुलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्न आवश्यक छ ।
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । काठमाडौंको बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।
ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो । विभिन्न अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५९, एभरेस्टमा १०२, केएमसीमा ३७, वीरमा ६ र पाटन अस्पतालमा ४, त्रिवि शिक्षणमा १८ जना, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ र दमक अस्पताल ७ जना उपचार भइरहेको छ । यस्तै, इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएसँगै प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको हो ।
एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थाका छन् । ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले ट्रमामा १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
भ्रष्टाचारका विरुद्ध ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।
रोजगारी, शिक्षा, समान अवसर र जीवनस्तरका सवालमा युवाहरु सडकमा उत्रिएका छन् । आन्दोलनका क्रममा भएको यो घटना झन् जनआक्रोश बढाउने संकेतका रूपमा लिइएको छ ।
युवाको असामयिक निधनले समाज र राष्ट्र दुवैलाई गहिरो घाउ पुर्याएको छ । अब सरकार, राजनीतिक दल र आन्दोलनकारीबीच सहमति र संवाद नै शान्ति, स्थिरता र समाधानको बाटो बन्ने देखिएको छ ।













