कारागार तोडफोड प्रकरणमा फरार दुई कैदी पक्राउ
कपिलवस्तु,
गत भदौ २५ गते बिहान करिब ७ बजे कपिलवस्तुस्थित कारागार कार्यालय तोडफोड गरी फरार भएका कैदीहरूमध्ये दुई जनालाई प्रहरीले खोजतलासपछि पुनः पक्राउ गर्न सफल भएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गर्दै आएका शिवराज नगरपालिका–१० शितलापुरका ३५ वर्षीय मगनीराम पासी लाई निरन्तर खोजी अभियानका क्रममा आफ्नै घर वरपर लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो।
त्यसैगरी, सोही घटनामा संलग्न रही फरार रहेका जबरजस्ती करणी उद्योग मुद्दाका पुर्पक्षका कैदी शिवराज नगरपालिका–३ मैनारका ४२ वर्षीय रामफल थारु लाई पनि प्रहरीले आइतबार दिउँसो पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै कारागार कार्यालयमा पुनः उपस्थित गराएको जनाएको छ।
प्रहरीका अनुसार दुवै फरार कैदीहरूलाई सुरक्षा घेराबन्दी र स्थानीयको सहयोगमा पक्राउ गरी प्रहरी कर्मचारीको जिम्मामा पुनः कारागार पठाइएको हो।यससँगै अन्य फरार कैदीहरूको खोजतलास कार्यलाई समेत प्रहरीले अझ तीव्र बनाएको जनाएको छ।













