पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्तीमा नगरस्तरीय वक्तृत्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।

पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्तीमा नगरस्तरीय वक्तृत्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।।
नवराज पौडेल कपिलवस्तु ,
नेपाल एकीकरणका महान् अभियन्ता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्म जयन्तीको अवसरमा नगरभित्रका माध्यमिक तहका विद्यालयहरूलाई समेट्दै वक्तृत्व कला प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रनिर्माताको योगदान, विचार र देशप्रतिको समर्पण भावलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा नगरभित्रका १५ वटा माध्यमिक विद्यालयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमअन्तर्गत आयोजित वक्तृत्व कला प्रतियोगितामा विद्यार्थीहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जीवन, योगदान, राष्ट्रिय एकता, स्वाधीनता र समसामयिक राष्ट्रनिर्माणसँग जोडिएका विषयमा धारणा प्रस्तुत गरेका थिए। प्रतिस्पर्धात्मक र उत्साहजनक रहेको प्रतियोगितामा रंगिलाल माध्यमिक विद्यालय प्रथम, नेपाल आदर्श माध्यमिक विद्यालय द्वितीय तथा प्रकाश मा.बि सुन्दरीडाडा  तृतीय स्थान हासिल गर्न सफल भएका छन्। सहभागी विद्यार्थीहरूको प्रस्तुति, आत्मविश्वास र विषयवस्तुप्रतिको गहिरो बुझाइलाई निर्णायक मण्डलले उच्च मूल्याङ्कन गरेको थियो।


कार्यक्रमको सुरुवात पृथ्वीनारायण शाहको जंगी शालिकामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरी गरिएको थियो। त्यसपछि नेपाल आर्मीको सम्मानजनक सलामी, सशस्त्र प्रहरी बलको ब्यान्डबाजा प्रस्तुति तथा क्षेत्री समाज, भूपू सैनिक, मगर संघलगायत विभिन्न संघ–संस्थाहरूको आकर्षक झाँकी प्रदर्शन गरिएको थियो। झाँकीहरूले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र देशप्रेमको सन्देश प्रवाह गर्दै कार्यक्रममा थप रौनक ल्याएका थिए।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अजय थापाले पृथ्वीनारायण शाहको राष्ट्रनिर्माणमा रहेको दूरदर्शी सोच, साहस र त्यागको चर्चा गर्दै ती मूल्यहरू आजको पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र देशप्रेमको भावना विकास गर्दै सक्षम नागरिक बन्न आग्रह गर्नुभयो।
त्यसैगरी विशिष्ट अतिथि टेकलाल सापकोटाले यस्ता वक्तृत्व तथा सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीहरूको बौद्धिक क्षमता, अभिव्यक्ति कला र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यालयस्तरबाटै राष्ट्रिय इतिहास र संस्कृतिप्रति चासो बढाउन यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रम सहयोगी समाज संस्थाका अध्यक्ष सुरज खासुको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव नवराज पौडेलले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार र तृतीय हुनेलाई रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। साथै सहभागी सबै विद्यालय र विद्यार्थीहरूलाई पनि प्रशंसा तथा धन्यवाद व्यक्त गरिएको थियो। आयोजकले आगामी दिनहरूमा पनि राष्ट्रनिर्माताको योगदानलाई स्मरण गराउने तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने यस्ता शैक्षिक, बौद्धिक र सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ