पत्रकार चिन्ता परियारको चुनावी एजेन्डा : कृषि आत्मनिर्भरता पहिलो प्राथमिकता
कपिलवस्तु ।
कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका पत्रकार चिन्ता परियार ले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित स्पष्ट र दीर्घकालीन चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।
पत्रकारिताबाट सार्वजनिक सरोकारका मुद्दा उठाउँदै आएका परियारले यसपटक “किसान बाँचेनन् भने देश चल्दैन” भन्ने मूल मन्त्रसहित कृषि सुधारलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका हुन्।
उनले स्थानीय स्तरमै मलखाद तथा बीउ बैंक स्थापना गरी किसानलाई समयमै गुणस्तरीय मल र बीउ उपलब्ध गराउने योजना अघि सारेका छन्। साथै, किसानको उत्पादन लागत घटाउने र किसान आफैले आफ्नो उत्पादनको मूल्य सुनिश्चित गर्न सक्ने नीति ल्याउने प्रतिबद्धता जनाएका छन्।
स्थानीय कृषि उपजको बजारीकरण र भण्डारण समस्या समाधानका लागि चिस्यान गृह तथा भण्डारण केन्द्र स्थापना गर्ने उनको अर्को महत्वपूर्ण योजना रहेको छ। यसले किसानलाई बिचौलियाबाट मुक्त गराउने र उचित मूल्य पाउने वातावरण बनाउने विश्वास परियारले व्यक्त गरेका छन्।
युवालाई वैदेशिक रोजगारीतर्फ धकेलिनु नपरोस् भन्ने उद्देश्यले उनले व्यावसायिक कृषिमा लाग्ने युवाका लागि २० वर्षे सहुलियत कर्जा प्याकेज कार्यक्रम ल्याउने घोषणा गरेका छन्। यसले गाउँमै रोजगारी सिर्जना हुने उनको दाबी छ।
त्यसैगरी, प्राकृतिक विपद् र अनिश्चितताबाट किसानलाई जोगाउन कृषि बीमा तथा विपद् क्षतिपूर्ति व्यवस्था प्रभावकारी बनाउने एजेन्डा पनि समेटिएको छ। महिला किसान, साना तथा सीमान्त किसानलाई विशेष सहयोग, तालिम र अनुदानमा प्राथमिकता दिने नीति समेत उनले सार्वजनिक गरेका छन्।
सिंचाइ समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न ठाउँ–ठाउँमा वाटर बैंक स्थापना गर्ने योजना पनि उनको कृषि एजेन्डाको महत्वपूर्ण अङ्ग रहेको छ।
पत्रकार परियार भन्छन्,
“मैले पत्रकारितामा देखेका किसानका पीडा अब संसद्मा बोलेर समाधान गर्न चाहन्छु। मेरो राजनीति पदका लागि होइन, परिणामका लागि हो।
स्थानीय मतदाताले परियारको एजेन्डालाई व्यवहारिक, जनमुखी र किसानमैत्री भएको प्रतिक्रिया दिइरहेका छन्। फागुन २१ मा हुने निर्वाचनमा उनका एजेन्डाले कस्तो परिणाम ल्याउने भन्ने चासो बढ्दै गएको छ।














