शिवराज नगरपालिकाको सहयोगमा वडा नं. ३ मा निशुल्क आँखा शिविर, ४५० सेवाग्राही लाभान्वित ।।
शिवराज नगरपालिकाको आर्थिक सहयोग तथा वडा नं. ३ को आयोजनामा वडा नम्बर ३ को प्राङ्गणमा निशुल्क आँखा शिविर कार्यक्रम रूपमा सम्पन्न भएको छ। छन्द कालेबाबु नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको यस शिविरले स्थानीय नागरिकहरूको आँखासम्बन्धी समस्याको पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुर्याएको छ।
शिविरमा बिहानैदेखि स्थानीय सर्वसाधारण, ज्येष्ठ नागरिक, महिला, मजदुर तथा विपन्न वर्गको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमार्फत जम्मा ४५० जना सेवाग्राहीले आँखा परीक्षण तथा परामर्श सेवा लिएका छन्। परीक्षणका क्रममा दृष्टि कमजोर भएका तथा चस्माको आवश्यकता देखिएका १४१ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो। यसले विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूलाई ठूलो राहत मिलेको छ।
त्यसैगरी, आँखा जाँचका क्रममा ५९ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन्।
वडा टेकलाल सापकोटाले जानकारी दिँदै ती सबै बिरामीहरूको भोलि नै बहादुरगञ्जस्थित नारायणी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया (अपरेशन) गरिने व्यवस्था मिलाइएको बताउनुभयो। उहाँका अनुसार उपचार, आवतजावत र आवश्यक औषधिको व्यवस्थासमेत समन्वयका साथ गरिने भएको छ । । आँखा जस्तो संवेदनशील अंगको उपचारमा सानो लापरवाहीले पनि ठूलो समस्या निम्त्याउन सक्छ, त्यसैले वडास्तरमै यस्तो शिविर सञ्चालन गरिएको हो, उहाँले भन्नुभयो।
कार्यक्रम सफल बनाउन शिवराज नगरपालिकाको आर्थिक सहयोग, वडा कार्यालयको सक्रिय भूमिका तथा छन्द कालेबाबु नारायणी आँखा अस्पतालका चिकित्सक र प्राविधिक टोलीको महत्वपूर्ण योगदान रहेको थियो।
शिवराज नगरपालिकाले आगामी दिनमा पनि आँखा, दाँत, महिला तथा बालस्वास्थ्यजस्ता क्षेत्रमा लक्षित कार्यक्रमहरू सञ्चालन गरी जनताको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाउदै नगरका ११ वटै वडामा शिविरको आयोजना गरिएको नगर प्रमुख अजय थापाले जानकारी दिनु भयो ।














