राजमो विजयनगरको भेला सम्पन्न ।।
कपिलवस्तु, तौलिहवा ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा आज राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय पालिकास्तरीय प्रचार–प्रसार समिति गठन गरेको छ। साथै त्रिवेणी कुर्मीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति पनि गठन गरिएको छ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा जिल्ला सचिव तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार (क्षेत्र नं. ३) केर सिंह अदैले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा गाउँ–गाउँबाट जनता जाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले निर्वाचनमा जमिनदार र दलालहरूले विभिन्न प्रलोभन देखाएर जनतालाई झुक्याउने प्रयास गर्दै आएको उल्लेख गर्दै कार्यकर्ताहरू यस विषयमा सचेत रहनुपर्ने बताउनुभयो।
भेलामा जातीय समता समाजका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामबहादुर विक, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य त्रिवेणी कुर्मी तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट समानुपातिक उम्मेदवार तारमती पासीले मन्तव्य राख्दै निर्वाचन सफल पार्न सक्रिय रूपमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
भेलाले पालिकाका दुई स्थानमा उम्मेदवार परिचय तथा भेटघाट कार्यक्रम सञ्चालन गर्ने, साथै पालिकास्तरीय प्रचार–प्रसार कार्यालय वडा नं. ४ ज्योतिनगरमा स्थापना गर्ने निर्णय गरेको छ।
कार्यक्रम गोविन्द परियारको अध्यक्षता तथा पप्पु कलवारको सञ्चालनमा सम्पन्न भएको थियो।














