अध्यादेशपछि शिवराजमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन, वडा ३ बाट सुरुवात

नवराज पौडेल ,कपिलवस्तु
शिक्षा ऐनमा गरिएको संशोधन कार्यान्वयन गर्दै शिवराज नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको पुनर्गठन प्रक्रिया सुरु गरेको छ। बैशाख २२ गते सूचना प्रकाशित गर्दै नगरपालिकाले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” अनुसार शिक्षा ऐन २०२८ को दफा १२ उपदफा (१) को खण्ड (ग) खारेज भएसँगै सो आधारमा मनोनित सदस्यहरू स्वतः पदमुक्त हुने व्यवस्था लागू भएको जनाएको हो।

सोही कानुनी प्रावधानअनुसार नगरपालिकाअन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति गठन तथा पुनर्गठन गर्न निर्देशन दिइएको छ।
यसैक्रममा शिवराज नगरपालिका वडा नम्बर ३ ले उक्त निर्णय कार्यान्वयन गर्दै जिल्लामै पहिलोपटक विद्यालय व्यवस्थापनमा नयाँ अभ्यास सुरु गरेको छ।
वडा नं. ३ अन्तर्गत रहेको आधारभूत विद्यालय मदवामा साविकको मनोनित पद खारेज भएपछि नयाँ प्रक्रिया अघि बढाइएको हो। अभिभावक भेलाबाट सर्वसम्मत रूपमा चयन गरिएका चार जनामध्येबाट कृष्णप्रसाद थारुलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो । स्थानीय तहले कानुनी व्यवस्था कार्यान्वयन गर्दै शिक्षा क्षेत्र सुधार गर्ने अवसरका रूपमा लिएको बताउदै आफ्नै वडा बाट सुरु गरिएको उहाले जानकारी दिनु भयो ।
शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माले अध्यादेशअनुसार सबै विद्यालयमा प्रक्रिया अघि बढाइएको बताउनु भयो । खारेज भएको व्यवस्थाअनुसार मनोनित सदस्यहरू स्वतः पदमुक्त हुन्छन् अब अभिभावकको प्रत्यक्ष सहभागितामा नयाँ समिति गठन गर्न सबै विद्यालयलाई निर्देशन दिएका छौं। उहाले भन्नू भयो ।
उहाका अनुसार, यो प्रक्रियाले विद्यालय व्यवस्थापनमा पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ।
शिवराज नगरपालिकाभित्र धार्मिक २३ र सामुदायिक ४१ विद्यालय रहेका छन्। ती सबै विद्यालयमा अब नयाँ संरचनाअनुसार व्यवस्थापन समिति गठन गर्ने तयारी भइरहेको जनाइएको छ। वडा नम्बर ३ बाट सुरु भएको यो अभ्यासले अन्य वडाहरूलाई समेत कानुनी सुधार कार्यान्वयनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ