ठेलागाडा व्यवस्थापन गर्दै शिवराज : रोजीरोटी जोगाउँदै

कपिलवस्तुको शिवराज नगरपालिका यतिबेला बजार व्यवस्थापनको नयाँ अभ्यासमा जुटेको छ। सडक किनार, चोक–गल्ली र भीडभाड हुने बजार क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका ठेलागाडालाई हटाउने होइन, व्यवस्थित गर्ने नीति लिएर नगरपालिका अघि बढेको हो। यही उद्देश्यसहित नगरपालिकाले निशुल्क ठेला दर्ता प्रमाणपत्र वितरण अभियान सुरु गरेको छ।
बिहीबार बिहानैदेखि चन्द्रौटास्थित नगरपालिका परिसरमा ठेला व्यवसायीहरूको भीड देखिन्थ्यो। कसैले फलफूल बेच्ने ठेला चलाउँछन्, कसैले चटपटे, पानीपुरी वा नास्ताका सामान। वर्षौंदेखि बजारको किनारामा आफ्नो जीवन धानिरहेका उनीहरूका लागि नगरपालिकाको यो अभियान केवल एउटा कागज वितरण मात्र होइन, आफ्नो पेशाले औपचारिक पहिचान पाएको अनुभूति पनि बनेको छ।।

नगरपालिकाका नगर प्रमुख अजय थापाका अनुसार बजार क्षेत्रमा जथाभावी ठेला सञ्चालन हुँदा पैदल यात्रु, सवारी चालक र स्थानीय व्यवसायी सबै प्रभावित हुने गरेका थिए। साँघुरा सडकमा अव्यवस्थित रूपमा राखिएका ठेलाले बजारको सौन्दर्य मात्रै बिगारेका थिएनन्, दैनिक आवतजावतसमेत अस्तव्यस्त बनाउँदै लगेका थिए। यही अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले व्यवस्थापन अभियान अघि बढाएको जनाइएको छ।
नगर प्रमुख अजय थापा ले नगरपालिकाको उद्देश्य कसैको रोजीरोटी खोस्ने नभई व्यवस्थित बजार निर्माण गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार केही नागरिकले बजार क्षेत्रबाट ठेलागाडा पूर्ण रूपमा हटाउनुपर्ने सुझाव दिए पनि नगरपालिका त्यस पक्षमा छैन।
हामीले साना व्यवसायीको पीडा पनि बुझ्नुपर्छ। धेरै परिवारको दैनिकी यही ठेलासँग जोडिएको छ,नगर प्रमुख थापाले भन्नुभयो, “व्यवस्थापनको नाममा कसैको पेटमा लात हान्ने काम नगरपालिकाले गर्दैन। हाम्रो लक्ष्य सफा, सुन्दर र व्यवस्थित बजार बनाउनु हो
नगरपालिकाले अब ठेला सञ्चालनका लागि निश्चित मापदण्ड लागू गर्ने तयारी गरेको छ। ठेला कहाँ राख्ने, कस्तो अवस्थामा सञ्चालन गर्ने, सडक अवरोध नगर्ने लगायतका विषयमा शर्तहरू तयार गरिएको नगरपालिकाले जनाएको छ। ती मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ।
शाखा अधिकृत लक्ष्मी कडेल का अनुसार अभियानको पहिलो दिन २१ जना ठेला व्यवसायीलाई निशुल्क दर्ता प्रमाणपत्र वितरण गरिएको छ। आगामी दिनमा अन्य व्यवसायीलाई पनि दर्ता प्रक्रियामा समेट्दै लगिने उहाँले जानकारी दिनुभयो।
स्थानीय तहले बजार व्यवस्थापनका नाममा साना व्यवसायीलाई विस्थापित गर्ने अभ्यास भइरहेका बेला शिवराज नगरपालिकाले भने ‘व्यवस्थापन र सहअस्तित्व’ को बाटो रोजेको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ