विजयनगरमा रास्वपा थप बलियो, चिन्ता परियार पार्टीमा प्रवेश

विजयनगरमा रास्वपा थप बलियो, चिन्ता परियार पार्टीमा प्रवेश ।
कपिलवस्तु, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव विस्तार हुँदै गएको छ । यसैक्रममा प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा “क्यामरा” चुनाव चिन्हबाट चुनाव लडेका चिन्ता परियार रास्वपामा प्रवेश गर्नुभएको छ ।
एक विशेष कार्यक्रमका बीच पार्टीका नेताहरूले परियारलाई सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् । उहाँको प्रवेशसँगै विजयनगर क्षेत्रमा रास्वपाको संगठन थप सशक्त बन्ने तथा युवापुस्तामाझ पार्टीको जनसमर्थन अझ बढ्ने विश्वास गरिएको छ ।
लामो समयदेखि सामाजिक, राजनीतिक तथा पत्रकारिता क्षेत्रमा सक्रिय परियार स्थानीय स्तरमा परिचित र प्रभावशाली व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँले “मेरो साथी एफ.एम.” सहित विभिन्न अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै स्थानीय समस्या, विकास निर्माण, सामाजिक गतिविधि तथा जनचासोका विषयलाई निरन्तर उठाउँदै आउनुभएको छ । पत्रकारितामार्फत जनताको आवाज बुलन्द गर्दै आएका कारण उहाँले स्थानीय समुदायमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ ।
युवामाझ लोकप्रिय परियारको चर्चा पछिल्लो समय विजयनगर गाउँपालिकाको अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा समेत हुँदै आएको छ । उहाँको राजनीतिक यात्राले विजयनगरको स्थानीय राजनीतिमा नयाँ समीकरण बन्न सक्ने आकलन गरिएको छ ।
कार्यक्रममा बोल्दै पार्टी नेताहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र इमानदार राजनीतिको पक्षमा रास्वपा दृढ रहेको बताएका थिए । उनीहरूले परियारजस्ता सामाजिक रूपमा सक्रिय व्यक्तित्वको आगमनले पार्टीलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै परियारले समाज र देशको सकारात्मक परिवर्तनका लागि आफू रास्वपामा आबद्ध भएको बताउनुभयो । उहाँले जनताका समस्या समाधान, युवालाई राजनीतिमा आकर्षित गर्ने तथा विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीय बासिन्दाहरूले पनि परियारको आगमनसँगै विजयनगरमा रास्वपाको प्रभाव थप बढ्ने प्रतिक्रिया दिएका छन् । उहाँको प्रवेशले पार्टीलाई नयाँ ऊर्जा, संगठनात्मक मजबुती र आगामी राजनीतिक यात्रामा थप उत्साह मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ