कफीको कपबाट करिअरतर्फ : शिवराजका १०७ युवालाई बरिस्ता सीप सिकाउँदै मेयर रोजगार कार्यक्रम
नवराज पौडेल चन्द्रौटा, कपिलवस्तु।
केही वर्षअघिसम्म गाउँ–सहरका युवाहरूका लागि रोजगारीको अर्थ प्रायः वैदेशिक रोजगार नै मानिन्थ्यो। तर समयसँगै बजारको आवश्यकता बदलिएको छ। होटल, रेष्टुरेन्ट, क्याफे तथा पर्यटन क्षेत्र विस्तार भएसँगै नयाँ–नयाँ पेशा र अवसरहरू पनि सिर्जना भएका छन्। यिनै अवसरलाई पहिचान गर्दै शिवराज नगरपालिकाले युवाहरूलाई सीपसँग जोड्ने अभियानलाई निरन्तरता दिएको छ।
यही अभियानअन्तर्गत नगरपालिकाले मेयर रोजगार कार्यक्रम मार्फत सञ्चालन गरेको १५ दिने आधारभूत बरिस्ता तालिम बुधबारदेखि सुरु भएको छ। शिवराज नगरपालिकाको कार्यालय र एन.ए.बि. स्पेसालिटी बरिस्ता ट्रेनिंग सेन्टर को सहकार्यमा सञ्चालन भइरहेको तालिममा नगरका विभिन्न वडाका १०७ जना युवायुवती सहभागी भएका छन्।

शिवराज–५, चन्द्रौटा, बालापुर मोडस्थित तालिम केन्द्रमा सुरु भएको कार्यक्रम कफी बनाउने कला सिकाउने अभ्यास मात्र होइन, बदलिँदो बजारको मागअनुसार युवालाई दक्ष जनशक्ति बनाउने प्रयास पनि हो। तालिम २०८३ जेठ २० गतेदेखि भएको छ भने असार ४ गतेसम्म सञ्चालन हुनेछ।
बरिस्ता पेशा अहिले होटल तथा क्याफे उद्योगको महत्वपूर्ण अंगका रूपमा विकसित हुँदै गएको छ। एक समय सामान्य कामको रूपमा हेरिने कफी बनाउने पेशा आज दक्षता, प्रस्तुति कला र ग्राहक सेवासँग जोडिएको सम्मानित व्यवसाय बनेको छ। यही कारणले विश्वभर दक्ष बरिस्ताको माग बढिरहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अजय थापा ले युवालाई आत्मनिर्भर बनाउने नगरपालिकाको अभियानलाई सीपमूलक तालिमहरूले थप मजबुत बनाएको बताउनु भयो ।
उहाँले आजको समयमा डिग्रीसँगै सीप पनि आवश्यक छ। रोजगार खोज्नेभन्दा रोजगार सिर्जना गर्ने जनशक्ति उत्पादन गर्नु हाम्रो लक्ष्य हो। युवाहरूलाई बजारको आवश्यकता अनुसार दक्ष बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले यस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ।
नगर प्रमुख थापाका अनुसार नगरपालिकाले सञ्चालन गरेका तालिमहरू बजेट खर्च गर्ने कार्यक्रम नभई युवाको भविष्यसँग प्रत्यक्ष जोडिएका योजना रहेको बताउदै सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर स्वरोजगार तथा उद्यमशीलताको बाटो रोज्न आग्रह गर्नुभयो ।
तालिममा सहभागी युवाहरूले कफी तथा अन्य पेय पदार्थ तयार गर्ने विधि, कफी मेसिन सञ्चालन, ग्राहक सेवा, आतिथ्यता व्यवस्थापन, व्यवसायिक आचरण तथा बरिस्ता पेशासँग सम्बन्धित विविध पक्षमा व्यावहारिक प्रशिक्षण प्राप्त गर्नेछन्। प्रशिक्षणका क्रममा सहभागीहरूले प्रत्यक्ष अभ्यासमार्फत दक्षता हासिल गर्ने अवसर पनि पाउनेछन्।
पछिल्लो समय नेपालमा क्याफे संस्कृति तीव्र रूपमा विस्तार भइरहेको छ। शहरदेखि साना बजारसम्म कफी पसल र क्याफेहरू खुल्ने क्रम बढ्दो छ। यसले बरिस्ता पेशामा दक्ष जनशक्तिको माग समेत बढाएको छ। तालिममा सहभागी युवाहरूले स्वदेशमै रोजगारी प्राप्त गर्न सक्ने मात्र होइन, आफ्नै कफी व्यवसाय सञ्चालन गर्ने सम्भावना पनि रहेको प्रशिक्षकहरूको भनाइ छ।
शिवराज नगरपालिकाले यसअघि पनि विभिन्न सीपमूलक तथा रोजगारमुखी तालिम सञ्चालन गर्दै आएको छ। स्थानीय सरकारको यस्तो पहलले बेरोजगार युवालाई अवसरसँग जोड्नुका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आज बरिस्ता सिकिरहेका यी १०७ युवा भोलिका दिनमा सफल पेशाकर्मी, उद्यमी र अरूलाई रोजगारी दिने व्यक्तिका रूपमा स्थापित हुन सक्नेछन्।














