२ करोड ७२ लाखका योजना प्रभावकारी बन्दै, विजयनगरको LoCAL परियोजना अन्तर्राष्ट्रिय चासोको केन्द्रमा
बिजयनगर कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालन भइरहेको स्थानीय जलवायु अनुकूल जीवनयापन परियोजना (LoCAL) ले ग्रामीण विकास र जलवायु अनुकूलनका क्षेत्रमा उल्लेखनीय प्रभाव देखाउन थालेको छ। वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय पुँजी कोष (UNCDF) को साझेदारीमा सञ्चालित यस परियोजनाको प्रगति तथा प्रभावको मूल्याङ्कन गर्न नेपालका लागि अष्ट्रेलियाली राजदूत साइमन इर्न्स्ट सहितको टोलीले स्थलगत अनुगमन गरेको छ।राजदूत इर्न्स्टको भ्रमण केवल परियोजनाको अनुगमनमा मात्र सीमित रहेन, यसले स्थानीय तहमा जलवायु परिवर्तनका चुनौतीसँग जुध्न भइरहेका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायले समेत चासोपूर्वक हेरिरहेको सन्देश दिएको छ।
गाउँपालिका तथा स्थानीयवासीले राजदूतको भव्य स्वागत गर्दै विकास साझेदारीप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।हाल विजयनगरमा करिब २ करोड ७२ लाख रुपैयाँ बराबरका विभिन्न योजना सञ्चालनमा छन्। यी योजनाहरूले कृषि, सिँचाइ, बजार व्यवस्थापन तथा ग्रामीण पूर्वाधार विकासलाई केन्द्रमा राखेका छन्। अनुगमन टोलीले थरौली भाठा स्टिल ट्रस निर्माण, प्रेमनगर र लोहरौला हाटबजार स्तरोन्नति तथा व्यवस्थापन, गेडुवाजोत लिफ्ट सिँचाइ पाइपलाइन तथा विद्युत् विस्तार, साथै ज्योतिनगर लिफ्ट सिँचाइ तथा पाइपलाइन विस्तार लगायतका योजनाको स्थलगत अवलोकन गरेको थियो।गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा ले जलवायु परिवर्तनका असर ग्रामीण समुदायले प्रत्यक्ष रूपमा भोगिरहेको अवस्थामा LoCAL परियोजनाले स्थानीय आवश्यकता अनुसारका समाधान अघि सारेको बताए।
उनका अनुसार परियोजनाले पूर्वाधार निर्माणसँगै स्थानीयको आयआर्जन र जीविकोपार्जनमा समेत सकारात्मक प्रभाव पारिरहेको छ।प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा ले योजनाहरू गुणस्तरीय रूपमा कार्यान्वयन भइरहेको जानकारी दिँदै शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रका थप कार्यक्रमका लागि गाउँपालिकाले साझेदार निकायसँग माग गरिरहेको बताए।विजयनगरमा सञ्चालित LoCAL परियोजना केवल भौतिक संरचना निर्माणको कार्यक्रम मात्र होइन, जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्ने प्रयासका रूपमा समेत हेरिएको छ। सिँचाइ सुविधा विस्तार, कृषि उत्पादन वृद्धि र बजार पहुँच सहज बन्ने अपेक्षाले स्थानीय किसानहरू उत्साहित देखिएका छन्।ग्रामीण क्षेत्रमा जलवायु अनुकूल विकासका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएमा त्यसले दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्ने उदाहरण विजयनगरले प्रस्तुत गरेको छ। त्यसैले यो परियोजना अब एउटा स्थानीय विकास योजनाभन्दा माथि उठेर जलवायु परिवर्तनसँग जुध्ने व्यवहारिक मोडेलका रूपमा स्थापित हुने संकेत देखिएको छ।














