समुदायमै विवाद समाधानको आधार तयार गर्दै ३३ मेलमिलापकर्ताको शपथ

समुदायमै विवाद समाधानको आधार तयार गर्दै ३३ मेलमिलापकर्ताको शपथ
कपिलवस्तु, जेठ २१
स्थानीय तहमा उत्पन्न हुने विवादलाई अदालतको ढोकासम्म पुग्न नदिई समुदायमै सहमतिका आधारमा समाधान गर्ने उद्देश्यसहित प्रशिक्षित ३३ जना मेलमिलापकर्ताले शिवराज नगरपालिकामा शपथ ग्रहण गरेका छन्।
शिवराज नगरपालिका र जनहित संरक्षण मञ्च (प्रो पब्लिक), काठमाडौँको संयुक्त आयोजना तथा नागरिक शान्ति सेवा कार्यक्रम (जीआईजेड) को सहयोगमा सञ्चालित मेलमिलापसम्बन्धी आठ दिवसीय (४८ घण्टा) आधारभूत तालिममा सहभागी ११ वटै वडाका ३३ जनाले बिहीबार आयोजित समारोहमा शपथ ग्रहण गरेका हुन्।

शिवराज नगरपालिका–५ स्थित सभाहलमा आयोजित कार्यक्रममा नगर उपप्रमुख तथा न्यायिक समितिकी संयोजक शिवकुमारी चौधरीले प्रशिक्षित मेलमिलापकर्ताहरूलाई शपथ ग्रहण गराउनु भएको थियो । शपथसँगै उनीहरूले निष्पक्षता, गोपनीयता र न्यायका सिद्धान्तलाई आत्मसात् गर्दै समुदायमा देखिने विवाद समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख अजय थापाले स्थानीय सरकारको न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन मेलमिलापकर्ताहरूको भूमिका महत्वपूर्ण रहने बताउनु भयो । अदालत र प्रशासनिक निकायसम्म पुग्ने सामान्य प्रकृतिका विवादलाई समुदायस्तरमै समाधान गर्न सक्षम जनशक्ति तयार हुनु सकारात्मक उपलब्धि भएको उनको भनाइ थियो।
उहाँले न्यायिक समितिको कार्यक्षमता अभिवृद्धिसँगै नागरिकलाई छिटो, सरल र कम खर्चिलो न्याय उपलब्ध गराउन यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “समाजमा बढ्दो असमझदारी र सामान्य विवादलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने संस्कृतिको विकास आवश्यक छ,” उहाले भन्नू भयो ।
कार्यक्रममा न्यायिक समितिका सदस्यहरू, वडा अध्यक्षहरू खिम बिक्रम केसि , नेत्र प्रसाद बेल्बासे, र राम गोपाल चौधरी लगाएत विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूको तर्फबाट तालिमको अनुभवसमेत प्रस्तुत गरिएको थियो।
वैशाख २० गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त तालिममा सहभागीहरूले मेलमिलापको अवधारणा, विवाद व्यवस्थापन, संवाद तथा सहजीकरणका विधि, कानुनी आधार र व्यवहारिक पक्षबारे प्रशिक्षण प्राप्त गरेका थिए। तालिमपछि उनीहरूलाई सम्बन्धित वडास्तरमा मेलमिलापकर्ताका रूपमा परिचालन गरिने गरिने जनाइएको छ ।
स्थानीय तहमा न्यायिक समितिमार्फत हुने विवाद समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिमले समुदायमा मेलमिलापको संस्कृति विकास, सामाजिक सद्भाव प्रवर्द्धन तथा न्यायमा नागरिकको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रमको सञ्चालन प्रो पब्लिककी फिल्ड प्रशिक्षार्थी सुस्मा भट्टराईले गर्नुभएको थियोे ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ