शिवराज ४ मा निःशुल्क आँखा शिविर सम्पन्न२९० जनाको आँखा परीक्षण, ३९ जनाको निःशुल्क मोतियाबिन्दु अपरेशन हुने
कपिलवस्तु, भदौ १७ ।
शिवराज नगरपालिका–४ मा वडाध्यक्ष नसिम अहमद खाँको पहलमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नागरिकलाई आँखा स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यसहित आयोजित शिविरमा ठूलो संख्यामा स्थानीयले लाभ उठाएका छन् ।
लायन्स आँखा अस्पताल, रूपन्देहीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा २९० जनाले आँखा परीक्षण गराएका थिए । जाँचका क्रममा ३९ जनामा मोतियाबिन्दु फेला परेपछि उनीहरूको निःशुल्क शल्यक्रिया हुने भएको वडाध्यक्ष खाँले जानकारी दिनुभयो ।
स्थानिय नागरिकहरूले आँखा स्वास्थ्यजस्तो संवेदनशील विषयलाई प्राथमिकतामा राखी सेवा प्रवाह गरेकोमा वडाध्यक्ष खाँप्रति आभार व्यक्त गरेका छन् । “स्वास्थ्य नै धन हो, यस किसिमका जनमुखी कार्यक्रमले हाम्रो नगरलाई अझ प्रतिष्ठित बनाएको छ,” स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन् ।
वडाध्यक्ष खाँले आफू समाजसेवामुखी कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भविष्यमा स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा थप कार्यक्रम ल्याइने उल्लेख गर्नुभयो । उहाँको यो पहललाई राजनीतिक नेतृत्वले नागरिकका आधारभूत आवश्यकता सुनिश्चित गर्न सक्ने ठोस उदाहरणका रूपमा लिइएको छ ।














