निष्ठाको राजनीति, सर्वहारा वर्गको जित यसपटक केयर सिंह अदैको पालो निश्चित

निष्ठाको राजनीति, सर्वहारा वर्गको जित
यसपटक केयर सिंह अदैको पालो निश्चित

नवराज पौडेल
कपिलवस्तु ।
नेपालको राजनीतिमा अवसरवाद, व्यक्तिवाद र चमकधमक हावी भइरहेका बेला कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा भने एक सादगीपूर्ण, वैचारिक र संघर्षशील नेताको नामले नयाँ आशा जगाएको छ। राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव केयर सिंह अदैलाई आगामी निर्वाचनका लागि सर्वहारा वर्गको प्रतिनिधिको रूपमा अगाडि सारिएसँगै स्थानीय राजनीतिमा सकारात्मक बहस र उत्साह बढेको छ।
२०४५ सालदेखि अखिल छैठौँबाट राजनीति सुरु गरेका केयर सिंह अदै लामो समय अर्ध–भूमिगत तथा खुला राजनीतिक आन्दोलनमा खारिएका अनुभवी नेता हुन्। कपिलवस्तुका गाउँ–बस्तीमा उनी कुनै अपरिचित नाम होइनन्। सत्ता, सुविधा र पदको मोहभन्दा जनताको दुःख–सुखलाई पहिलो प्राथमिकता दिने नेताका रूपमा उनी परिचित छन्। सुकुम्बासीका झुपडीदेखि किसानका खेतबारीसम्म अदै सधैँ न्याय, समानता र हकको पक्षमा उभिँदै आएका छन्।
हाल अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला सचिवको जिम्मेवारीमा रहेका अदै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। यस क्षेत्रमा सडक, पुल, विद्युत्, सिँचाइ कुलो निर्माणदेखि विद्यालय र विभिन्न संघ–संस्थाको सुदृढीकरणमा उनको अग्रणी भूमिका रहँदै आएको छ।
श्री समयथान माध्यमिक विद्यालयको अभिभावक संघ अध्यक्ष तथा व्यवस्थापन समिति सदस्यका रूपमा उनले शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय योगदान दिएका छन्। त्यस्तै, कृषि सहकारी सञ्चालन, किसानलाई मल–बिउ र तालिमको व्यवस्था, बचत संस्कृतिको विकास तथा जनताको सुविधाका लागि आईएमई सेवा सञ्चालन जस्ता कामहरू उनको नेतृत्वमा सम्पन्न भएका छन्।
यसपटक अदै केवल नारामा सीमित छैनन्। उनले जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका स्पष्ट र व्यवहारिक एजेन्डा अघि सारेका छन्।
उनका प्रमुख एजेन्डाहरू यस प्रकार छन् :
१. भूमिहीन र सुकुम्बासी समस्याको स्थायी समाधान
कपिलवस्तुको जटिल समस्याका रूपमा रहेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरी जमिनको वास्तविक मालिक बनाउने विषयलाई उनले पहिलो प्राथमिकतामा राखेका छन्।
२. कृषिमा रूपान्तरण र किसानको अधिकार
“पसिना बगाउने किसान भोकै बस्नुपर्ने अवस्था अन्त्य गरिन्छ” भन्ने प्रतिबद्धतासहित किसानमैत्री अनुदान, सहुलियतपूर्ण ऋण, मल–बिउको सुनिश्चितता तथा बिचौलिया प्रथाको अन्त्य गरी उत्पादनमा आधारित बोनस प्रणाली लागू गर्ने उनको योजना छ।
३. निःशुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य
गरिबका छोराछोरी पैसाको अभावमा शिक्षा र उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ पूर्ण सरकारी लगानीमा विद्यालय र स्वास्थ्य संस्थाको सुदृढीकरण गर्ने अदैको स्पष्ट अडान छ।
४. भ्रष्टाचार र खर्चिलो संघीय संरचनाविरुद्ध संघर्ष
राज्यको ढुकुटी रित्याउने संघीय संरचनाको खारेजी तथा स्थानीय तहमा मौलाउँदै गएको भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्दै सुशासन कायम गर्ने उनको दाबी छ।
५. स्थानीय रोजगारी र उद्यमशीलता
युवालाई बाध्यतावश वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न स्थानीय स्तरमै साना तथा मझौला उद्योग स्थापना गरी ‘आफ्नै गाउँ, आफ्नै ठाउँमा रोजगारी’ सिर्जना गर्ने उनको योजना छ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा ठूला भनिएका दलहरूले पटक–पटक अवसर पाए पनि सर्वसाधारणको जीवनस्तरमा अपेक्षित परिवर्तन आउन सकेको छैन। यही रिक्ततालाई चिर्न केयर सिंह अदैको उम्मेदवारी प्रभावशाली देखिएको छ।
“धेरैलाई जितायौँ, अब आफ्नै वर्गको इमानदार मान्छेलाई जिताउने बेला आएको छ,” एक स्थानीय किसानले आफ्नो भावना व्यक्त गरे।
निष्कलंक छवि, इमानदार स्वभाव र जनतासँगको गहिरो सम्बन्धका कारण अदै पद र पैसाको प्रलोभनमा नफस्ने नेताका रूपमा चिनिन्छन्। राष्ट्रिय जनमोर्चाको सांगठनिक आधार र अदैको व्यक्तिगत लोकप्रियताले कपिलवस्तुको राजनीतिमा नयाँ इतिहास रच्ने संकेत देखिएको छ।
केयर सिंह अदैको उम्मेदवारी केवल एक दलको चुनावी तयारी मात्र होइन, यो कपिलवस्तुका उत्पीडित, श्रमिक र सर्वहारा वर्गको आवाज संसदसम्म पुर्‍याउने अभियान हो। निष्ठा, विचार र वर्ग–संघर्षलाई शिरोपर गर्ने उनको राजनीतिक यात्राले कस्तो परिणाम ल्याउँछ, त्यो समयले नै बताउनेछ। तर अहिलेका लागि, उनी कपिलवस्तु क्षेत्र नम्बर ३ का जनताको आशा र भरोसाको केन्द्र बनेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर