कृष्णनगरमा सरकारी ड्युटी छाडेर निजी कम्प्युटर सेन्टरमा वडा कर्मचारी सेवाग्राहीलाई सास्ती ।।
नवराज पौडेल लोक संचार अन्लाईन चन्द्रौटा क.व
कृष्णानगर नगरपालिका वडा नं. ३ मा कार्यरत एक सरकारी कर्मचारी ड्युटी समयमै कार्यालय छाडेर निजी कम्प्युटर सेन्टरमा काम गरिरहेको अवस्थामा फेला परेपछि नगरपालिका प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ।
स्थानीय स्रोतका अनुसार वडा नं. ४ का कर्मचारी दीप कुमार कस्यप (स्थायी ठेगाना– सीरसहवा) बिहीबार दिउँसो करिब १२:३० देखि २:०० बजेसम्म वडा कार्यालय छाडेर गोलघरस्थित निजी “नेपाल कम्प्युटर पोइन्ट” मा बसेर काम गरिरहेको अवस्थामा भेटिएका हुन्। सो समय वडा कार्यालय सर्वसाधारणका लागि खुला रहने समय हो। तर सेवाग्राहीहरू कार्यालयमा लाइन लागेर बसेको अवस्थामा सम्बन्धित कर्मचारी अनुपस्थित थिए।
सार्वजनिक भएको तस्बिरमा कम्प्युटर, कागजात तथा रजिस्टरसहित काम गरिरहेको व्यक्ति देखिन्छ, जसलाई स्थानीयले वडा कर्मचारी कस्यप भएको दाबी गरेका छन्। यस घटनाले सरकारी ड्युटी समयमा निजी काम गर्ने अनुमति कसले दियो भन्ने प्रश्न उठाएको छ।
स्थानीय नागरिकहरूका अनुसार यो घटना एकदिने मात्र होइन। कार्यालय छाडेर होटल तथा निजी ठाउँमा बस्ने, सेवाग्राहीलाई अनावश्यक दुःख दिने र सानातिना कामका लागि पनि घुस माग्ने प्रवृत्ति रहेको आरोप उनीहरूको छ।
यस घटनापछि स्थानीयवासीहरूले ड्युटी समयको विवरण, सीसीटीभी फुटेज जाँच गरी निष्पक्ष छानबिन गर्न र आरोप प्रमाणित भए कडा कारबाहीको माग गरेका छन्।
यता कस्यपले भने कार्यलयको सर्वर नचलेको र सेवा ग्राहीको चाप रहेकोले आफू केही समयका लागि सेवाग्राही कै कामको लागि गएको स्वीकार गरेका छन ।
कार्यलय समयमा बाहिर गइ काम गर्नु गलत भएको भन्दै नगर प्रमुख रजत प्रताब शाहले कार्वाही गरिने बताएका छन ।














