चन्द्रौटामा पाँचौं ईद मिलन कार्यक्रम हुने : सद्भाव र एकताको सन्देश फैलाउने तयारी ।।
नवराज पौडेल कपिलवस्तु ,
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा मुस्लिम समुदायको पहलमा पाँचौं ईद मिलन कार्यक्रम आयोजना हुने भएको छ।
मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र को अवसर पारेर हरेक वर्षझैँ यस वर्ष पनि कार्यक्रम गर्न लागिएको समाजका अगुवा युवा नेता रहिश शाहले जानकारी दिनुभयो ।
चैत्र ७ गते शनिबार बिहान ८ बजे चन्द्रौटा चोकमा सञ्चालन हुने उक्त कार्यक्रम मुस्लिम समाज शिवराज नगरपालिका को आयोजनामा हुन लागेको हो। कार्यक्रममार्फत समुदायबीच आपसी भाइचारा, सहिष्णुता र सामाजिक सद्भाव सुदृढ बनाउने उद्देश्य लिइएको छ।
शाहका अनुसार ईद मिलन कार्यक्रम धार्मिक जमघट मात्र नभई विभिन्न जातजाति, धर्म र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने साझा मञ्चका रूपमा स्थापित हुँदै आएको छ। यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, धार्मिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा ईदको शुभकामना आदानप्रदान, सामुदायिक एकता र सहकार्यका विषयमा विचार आदानप्रदान, तथा आपसी चिनजान विस्तार गर्ने अवसर प्रदान गरिनेछ। यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै दीर्घकालीन सहअस्तित्व र मेलमिलापलाई टेवा पुर्याउने विश्वास आयोजकको छ।














