वार्ड अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय कराँते प्रतियोगिता सम्पन्न

वार्ड अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय कराँते प्रतियोगिता सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १० तथा कालिका कराते डो एकेडेमीको आयोजनामा “वार्ड अध्यक्ष कप लुम्बिनी प्रदेश स्तरीय कराँते प्रतियोगिता २०८२” चैत्र १७ र १८ गते सफलतापूर्वक सम्पन्न भएको छ।
बुटवल–१० स्थित होटल एशियनको सभाहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये १० जिल्लाबाट खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा रेफ्री गरी २५० भन्दा बढीको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
उद्घाटन समारोह कालिका कराते डो एकेडेमीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बुटवल–१० का वडा अध्यक्ष बल बहादुर पुन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा वडा सदस्यहरू, वडा सचिव तथा विभिन्न सामाजिक एवं खेलकुद क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।
विशिष्ट अतिथिका रूपमा नेपाल कराते महासंघका केन्द्रीय सदस्य कमला राना तथा लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेत सहभागी हुनुहुन्थ्यो।
प्रतियोगिताको प्राविधिक पक्षलाई व्यवस्थित बनाउन प्रदेश रेफ्री कमिशनका सचिव तथा राष्ट्रिय रेफ्री मोहलाल थापा मगरले रेफ्री संयोजकको भूमिका निर्वाह गर्नुभयो भने सह–संयोजकका रूपमा राजकुमार परियार रहनुभएको थियो। कार्यक्रम सञ्चालन कालिका कराते डो एकेडेमीका सचिव सन्तोष सिंहले गर्नुभएको थियो।
प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया र रोल्पा जिल्लाको सहभागिता रहेको थियो।
प्रतिस्पर्धात्मक खेलमा दाङ जिल्लाले ५ स्वर्ण, ६ रजत र ७ कांस्य पदकसहित टिम प्रथम स्थान हासिल गर्‍यो। नवलपरासी ५ स्वर्ण, ४ रजत र ३ कांस्यसहित द्वितीय भयो भने रुपन्देही ४ स्वर्ण, ७ रजत र ४ कांस्यसहित तृतीय स्थानमा रह्यो।
विजेता खेलाडी तथा टिमहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। साथै सहभागी टिम र रेफ्रीहरूका लागि खाना, आवास तथा भत्ताको समेत व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता कराते खेलको विकास, प्रतिभा पहिचान तथा खेलाडीबीच आपसी मैत्रीता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी चैत्र २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने पाँचौं कृष्ण प्रसाद भट्टराई कप राष्ट्रिय स्मृति कराते प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने प्रदेश अध्यक्ष पदम बहादुर बस्नेतले जानकारी दिनुभयो।
समग्रमा, प्रतियोगिताले प्रदेशस्तरीय कराते खेलको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ