शिवराजमा स्तनपान प्रतिस्थापन सामग्रीको बिक्रीमा कडाइ ।। अनुगमन तिब्र
शिवराज नगरपालिका क्षेत्रमा आमाको दूधलाई प्रतिस्थापन गर्ने सामग्रीको बिक्री–वितरण नियन्त्रण गर्न अनुगमन गरिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाइमा औषधि पसल तथा किराना पसलहरूमा पुगेर पाउडर दूधलगायत स्तनपान प्रतिस्थापन सामग्रीको अवस्था बारे अनुगमन गरिएको हो।
अनुगमन टोलीले “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन तथा नियमावली, २०४९ को अनुसारका मापदण्ड पालना भए/नभएको बारे जाँच गरेको जनाएको छ। टोलीका अनुसार अधिकांश पसलहरूमा ल्याक्टोजिन, सेर्लेस जस्ता सामग्रीहरू खुला रूपमा सजाएर राखिएको पाइएको छ।

स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईका अनुसार पहिलो पटक ऐन विपरीत कार्य गर्नेलाई सचेत गराइने र पुनः दोहोरिएमा कानुनी कारबाही गरिनेछ। उनले शिशुको स्वास्थ्यका लागि स्तनपान अत्यन्त महत्वपूर्ण भएकाले यसको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताए।
अनुगमनमा वडा अध्यक्ष नेत्र बेल्वासे, स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई, अधिकृत लक्ष्मी कडेल, सगिता परियार, सुरक्षाकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।














